मास मिडिया संवादाता (काठमाडौँ)– नेरिक एकेडेमीद्वारा आयोजित बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँको शंखमुलमा रहेको एकेडेमीको प्राङ्गढमा आयोजित उक्त प्रदर्शनीमा तीन दर्जनभन्दा बढी स्टलहरूमा विद्यार्थीहरुले आफ्नो आफ्नो समूहको डेमो प्रस्तुत गरेका थिए । जुनियर र सिनियर दुबै समूहका विद्यार्थीले आ–आफ्नो रुची अनुसारको कला र शिल्प निर्माण गरी कार्यक्रममा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित देखिएका थिए।
विद्यार्थी लगायत विभिन्न क्षेत्रका अभिभावक, शिक्षक, समाजसेवी, सरकारी कर्मचारी, प्रहरी, संचारकर्मी, उद्योगपति, टेक्नोक्र्याट आदिले अवलोकन गरेको उक्त एक दिवसीय प्रदर्शनी निकै प्रभावकारी रहेको सहभागीहरूले बताएका छन् । नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसीका अनुसार विद्यालयमा हरेक वर्ष यस प्रकारको प्रदर्शनी आयोजना हुँदै आएको छ र प्रदर्शनीले विद्यार्थीलाई किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान हासिल गर्न, विज्ञान प्रविधिको सिकाइमा आधार निर्माण गर्न र मानवीय पारस्परिकताको विकासमा निकै ठुलो टेवा पुगेको छ ।
नेरिक एकेडेमीका प्रवन्ध निर्देशक डा. मन खत्रीका अनुसार यस प्रदर्शनीले बालबालिकाको विज्ञान प्रविधि प्रतिको रुचीलाई ह्वात्तै बढाइदिएको छ । प्रदर्शनीमा डिजिटल प्रविधि, सफ्टवेयर र हार्डवेयरको नवीनतम् शिल्पलाई विविध प्रकारका डेमो मार्फत् देखाइएको थियो । प्रदर्शनीले सफ्टवेयर र हार्डवेयर मार्फत् डिजिटल प्रविधिसँगै ए. आई. को नवीनतम् उपयोगमा नयाँ पुस्ता कता जाँदैछ भन्ने स्पष्ट सन्देश दिएको छ । डेमोमा रोबोटिक्सका विभिन्न पक्षहरू समेटिएका थिए ।
विद्यालयका प्रमुख अभिभावक एवं नेरिक एकेडेमीका अध्यक्ष, प्रशान्त ढकालका अनुसार विज्ञान प्रविधिमा विद्यार्थीहरूको अभिरुचीले भावी पुस्ता सबल हुने सुखद् सन्देश दिएको छ । नेपाली समाज आज शिक्षाका थुप्रै पक्षमा कमजोर भएपनि आगामी दिनमा यो समाधानतर्फ अगाडि बढ्न सक्ने काफी आधार देखिएको छ । नेपाली समाज कुनैपनि प्रकारको पछौटेपनबाट अगाडि बढ्नका लागि विज्ञान प्रदर्शनी एउटा विशेष आधार हुन सक्ने अध्यक्ष ढकालको अपेक्षित बुझाई रहेको छ ।
प्रदर्शनीमा विद्यार्थीहरूले ए. आई. को आधारभुत प्रयोग मार्फत् आफ्नो कला प्रस्तुत गरेका थिए । जुनियर विद्यार्थीले खगोल, पर्यावरण र राष्ट्रियता झल्किने विविध पक्षहरू जस्तै, सूर्य, ग्रहहरू, लालिगुराँस, सिम्रिक, गाइ, फूल, विरुवा, गमला आदिका शूक्ष्मतम मानवीय कलाका नमूना डेमो गरेका थिए भने सिनियर विद्यार्थीहरूले प्रविधिको आधारभूत शिल्प मार्फत् डिजिटल ब्रुमर, डिजिटल भोटिङ मेसिन, डिजिटल वाटर कन्ट्रोलर, ग्यास डिटेक्टर, ट्राफिक लाइट कन्ट्रोलर, सेफ्टी डिटेक्टर, गार्बेज फिल्टरिङ सेन्सर लगायतका दर्जनौं आकर्षक प्रोजेक्टको डेमो प्रस्तुत गरेका थिए ।
प्रदर्शनी निकै खर्चिलो हुने भएपनि विद्यालयले आफ्नो श्रोत साधनको अधिकतम् उपयोग र विद्यालयका शुभचिन्तकहरूको सहयोगबाट कार्यक्रम सम्पन्न गर्दै आएको छ । विश्व बजारसँग प्रतिश्पर्धा गर्नुपर्ने आजको युगमा विद्यार्थीलाई कसरी प्रविधिमैत्री एवं दक्ष बनाउने र व्यवहारिक ज्ञान मार्फत् प्रतिभा पलायनलाई कसरी रोक्ने भन्ने सन्दर्भमा चिन्तन मनन गरेर नै यस प्रकारको नवप्रवर्तन एवं आविष्कारपरक प्रदर्शनी आयोजना गरिएको विद्यालय परिवारको भनाई छ ।