मास मिडिया संवादाता (काठमाडौँ)– विद्याकी देवी सरस्वतीको विशेष पूजा आराधना गरी वसन्त पञ्चमी २०८१ को अक्षर आरम्भ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको शंखमुलमा सञ्चालित नेरिक एकेडेमीको प्राङ्गणमा आयोजित विशेष समारोहमा आजैबाट विद्यालय प्रवेश गरेका बालबालिकाहरूलाई निःशुल्क भर्ना गरिएको थियो । सरस्वतीको पूजामा सरिक बनाउँदै प्रसाद ग्रहण गराइएको बालबालिका लक्षित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, पत्रकार, समाजसेवी, उद्यमी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । नेरिक एकेडेमीले हरेक वर्ष सरस्वती पूजालाई उच्च महत्वका साथ मनाउँदै आएको छ ।
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥
विद्यालयमा कुनै पनि बच्चाले पहिलो पाइला टेकेको दिन विशेष स्मरणीय हुने हुँदा यसलाई उच्च महत्व दिइएको नेरिकका प्रिन्सिपल, मिलन केसीको भनाई छ । यस कार्यक्रमले हाम्रो संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने प्रिन्सिपल केसीको विश्वास रहेको छ । स्वस्थकर विविध परिकारको साथमा विद्यार्थीहरुले खिरप्रसाद र फलफुल ग्रहण गरी सामूहिक तथा एकल फोटो खिचाउँदा नव प्रवेशी विद्यार्थीका अभिभावकको मुहारमा झल्किएको खुसी स्मृतिलायक थियो । बालबालिकाहरुको सामूहिकताको नयाँ अध्याय सुरुवात हुँदाको खुुसी निकै रोचक देखिएको विद्यालयका अध्यक्ष, प्रशान्त ढकालको भनाई छ । उहाँका अनुसार आफ्नो बाल्यकालभन्दा आजका बालबालिकाले प्राप्त गरेको अवसर निकै फरक र महत्वपूर्ण छ । आधुनिक र उन्नत पनि छ । यसले हाम्रो समाजको संस्कृतिलाई परिस्कार गर्दै अगाडि बढ्न, निकै प्रेरणा दिँदै आएको छ ।
अग्रज पण्डित र गुरुजनबाट सरस्वतीको विशेष पूजा गराई प्रसाद वितरण, संक्षिप्त प्रवचन र सांस्कृतिक पारस्परिकता साटिएको यस कार्यक्रमले नेरिक एकेडेमीको साखलाई बढावा त दिएको छ नै त्यसमा पनि विद्यालयको संस्कृति संरक्षणमा देखिएको रुचि र संस्कृतिको पुस्तान्तरणमा गरिएको सत्प्रयास समाजका लागि प्रेरणा समेत बन्ने देखिन्छ । छुट्टै भवनमा जुनियरलाई खेल्ने, पढ्ने र सामूहिकता साटासाट गर्ने प्रवन्धन सहित अभिभावकीय सुरक्षाको उचित व्यवस्थापन गरिएको हुँदा बालबालिकालाई नयाँ भर्ना गराउनेहरूले NERIC Kinder World नै रोज्ने गरेको नवप्रवेशी बालबालिकाका अभिभावकको भनाई रहेको छ ।
जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति । संगीत, कला र साहित्यको उत्थानमा सरस्वतीको महिमा मण्डित हुने हाम्रो आम मान्यता रहेको छ । यसकारण पनि वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा खासगरी शैक्षिक क्षेत्रमा विशेष महत्वका साथ मनाउने गरिएको हो । नेरिक एकेडेमीले दिएको सरस्वती पूजाको सन्देश विद्यार्थीहरूले सही अर्थमा ग्रहण गर्न सके सांस्कृतिक महत्तालाई आत्मसाथ गर्ने भावी पुस्ता तयार पार्न हामीलाई सकस हुनेछैन । अन्यथा पश्चिमा संस्कृतिको फेरो समातेर जीवनभर दुःखको गीत गाउनुको विकल्प हामीसँग रहँदैन । आजको कार्यक्रममा सहभागी अभिभावकले दिएको यही मौखिक सन्देश नै समाचारका रुपमा हामीले यहाँ यसरी प्रस्तुत गरेका हौँ ।