कांग्रेसले भ्रातृसंस्थालाई अन्तिम पटकका लागि महाधिवेशन गर्न समय दिने

मास मिडिया संवादाता-  नेपाली कांग्रेसले सातवटा भ्रातृसंस्थालाई अन्तिम पटकका लागि महाधिवेशन गर्न समय दिएको छ। असार २३ गते बसेको केन्द्रीय समिति बैठकले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन नगरेका संस्थालाई अब भने निर्देशन समितिको नेतृत्वमा महाधिवेशन गराउनुपर्ने निर्णय गरेको हो। अब ती संस्थाले तदर्थ समितिको नेतृत्वमा होइन, कांग्रेसले बनाएको निर्देशन समितिको जिम्मामा महाधिवेशन गर्नुपर्नेछ। पार्टीले यसलाई अन्तिम मौका भन्दै समय दिएको हो, ताकि सबै भ्रातृसंस्थामा लोकतान्त्रिक प्रक्रिया पूरा होस्।

नेपाली कांग्रेसले चैत मसान्तसम्म महाधिवेशन गरिसक्न भनेको सातवटा भ्रातृसंस्थाले त्यो जिम्मेवारी पूरा गर्न सकेनन्। ती संस्थामा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ परेका छन्।

केन्द्रीय समिति बैठकअघि सभापति शेरबहादुर देउवासहितका नेताहरूले ती संस्थाका निर्देशन समितिका पदाधिकारी र तदर्थ समितिका नेताहरूसँग छलफल गरेका थिए। छलफलपछि महाधिवेशन निर्देशन समितिको नेतृत्वमा सम्पन्न गर्ने गरी कार्यतालिका तयार पार्न निर्देशन दिइएको थियो, जसलाई केन्द्रीय समितिमा पेस गरिनेछ।

प्रतिक्रिया