MMI संवादाता- श्रावण १५- सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजनामा “सहिद स्मृति मूल समारोह, उत्कृष्ट कार्य समिति घोषणा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” आज २०८२ साल श्रावण १५ गते भव्य रूपमा सम्पन्न भयो। संगठनकी केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षता र महासचिव रामचन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न समारोहमा नेकपा (एमाले) का महासचिव श्री शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सहिद सुरेन्द्र बिकका सुपुत्र नविन विश्वकर्मा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महासचिव पोखरेलले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो।

उक्त समारोहले सहिदहरूको बलिदान र कर्मचारी आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै हालको संस्थागत क्षमतावृद्धि र प्रेरणालाई नयाँ उचाइमा पुर्याउने सन्देश दिएको थियो। सम्मान, पुरस्कार तथा घोषणा कार्यक्रममार्फत संगठनले निष्ठावान योगदान दिने व्यक्तित्वहरू, सक्रिय कार्यसमितिहरू र प्रतिस्पर्धात्मक विजेताहरूलाई सम्मानित गर्यो। सहिद परिवारको उपस्थिति, दीप प्रज्वलनको भावपूर्ण क्षण र सहभागीहरूको उत्साहले यो दिवस केवल सम्झनाको होइन, समर्पण र प्रतिबद्धताको प्रतिबिम्ब बनेर सम्पन्न भयो।

राष्ट्रव्यापी रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगितामा संघीय संसद सचिवालयका तारा खतिवडा, छविराज ढुगाना र दिपक काफ्ले प्रथम स्थानमा रहे भने महान्यायाधिवक्ताको कार्यालयका सञ्जिव पण्डित, डिजे बजगाईं र पार्कल देवान दोस्रो स्थानमा रहे। भक्तपुर जिल्ला कार्य समितिका अनुजा पौडेल, गिरिजा प्रसाद चौलागाईं र ईश्वर काफ्ले तेस्रो स्थानमा र शिक्षा विभागीय कार्य समितिका प्रशान्त भट्टराई, सलिना कार्की र पुष्पा के. सी. चौथो स्थानमा रहे। उपत्यका स्तरीय कविता प्रतियोगितामा कुमारीचोक अड्डाकी अन्जु न्यौपाने प्रथम, पर्यटन विभागका गोविन्द न्यौपाने दोस्रो र संघीय संसद सचिवालयका निरज दहाल तेस्रो भए। अन्तर ट्रेड युनियन पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा नेरानिकस टिमका कृष्ण सलामी र ठगेन्द्र राना विजेता बने भने नेनिकयु टिमका सिद्धराज ओझा र रमेश उपरकोटी उपविजेता घोषित भए। महिला डबल प्रतियोगितामा आयोजक टिमका सरिता कटुवाल र भवानी सापकोटा प्रथम तथा नेरानिकस टिमकी शारदा विष्ट र सरुणा थापा दोस्रो स्थानमा रहे।

संगठनमा लामो समय सेवा दिएर अवकाश प्राप्त गरेका पदाधिकारीहरूमध्ये निवर्तमान अध्यक्ष लेखनाथ कोइराला, कोशी प्रदेश इन्चार्ज लक्ष्मी प्रसाद गुरागाईं, सचिवालय सदस्य अशोक पोखरेल, केन्द्रीय सदस्यहरू बुद्धि बहादुर घिमिरे, फणिन्द्र प्रसाद खनाल, र पूर्व सदस्यहरू रुक्मिणी अधिकारी तथा निलकण्ठ पौडेललाई सम्मान गरियो।
त्यस्तै, हाल उपसचिव पदमा बढुवा भएका केन्द्रीय सदस्य अनुप ढकाल, सुरेन्द्र बहादुर शाही, आयोग सदस्य खगेन्द्र बर्देवा, सचिवालयका पुष्पराज जोशी, रमेश भट्टराई, अर्थ विभागका चुरामणी अर्याल र महान्यायाधिवक्ताको विभागीय सचिव सुवास भट्टराईलाई पनि सम्मान प्रदान गरियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेका शान्ता चौधरीलाई विशेष सम्मान प्रदान गरियो, जसले आठ वर्षको उमेरदेखि कमलरी जीवन बिताइन्, त्यसपश्चात् कमलरी मुक्त भएपछि संविधान सभा सदस्य, प्राकृतिक स्रोत तथा साधन समितिको प्रमुख, नेकपा एमाले सचेतक हुँदै हाल पोलिटब्युरो सदस्यको भूमिकामा पुग्नुभएको छ। ४० वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरी हाल स्नातक तृतीय वर्षमा अध्ययनरत उहाँ स्वउद्यमशील महिलाको रूपमा अचार उत्पादनमा सक्रिय हुनुहुन्छ।
त्यस्तै, विभिन्न प्रदेश र विभागीय कार्यसमितिहरूमध्ये उत्कृष्ट कार्यसमिति घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान गरियो। कोशी प्रदेशबाट इलाम जिल्ला कार्य समिति, मधेश प्रदेशबाट पर्सा, बागमती प्रदेशबाट ललितपुर, गण्डकी प्रदेशबाट तनहुँ, लुम्बिनी प्रदेशबाट रुपन्देही, कर्णाली प्रदेशबाट कालिकोट, सुदूरपश्चिम प्रदेशबाट बैतडी जिल्ला कार्य समिति र उपत्यका प्रदेशबाट संघीय संसद सचिवालय तथा महालेखापरीक्षकको कार्यालयका विभागीय कार्य समितिहरू उत्कृष्ट घोषित भए भने समग्र प्रदेश कार्यसमितिमा सुदूरपश्चिम प्रदेश कार्यसमिति उत्कृष्ट घोषित भयो। यसरी विविध विधामा सहभागीहरूलाई पुरस्कृत र सम्मानित गर्दै संगठनले सहिदहरूको स्मृतिमा आयोजित यस दिवसलाई गौरवशाली बनाएको थियो।

स्मृति दिवसको अवसरमा विविध सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरू समेत सम्पन्न गरिए, जसअन्तर्गत नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २०७ पिन्ट रक्त संकलन गरियो। कार्यक्रममा सबैभन्दा धेरै रक्तदाता सहभागी गराउने तथा सक्रिय भूमिका निर्वाह गर्ने अर्थ मन्त्रालय विभागीय कार्य समितिलाई विशेष उल्लेख गरिएको छ। साथै, बाग्मती करिडोरस्थित तीनकुने सहिद स्मृति पार्कमा वृक्षारोपण गरी सहिदहरूको योगदानको स्मरणमा हरियाली विस्तार गर्ने प्रयास गरिएको थियो।
यस स्मृति दिवसको सन्दर्भमा तीन जना सहिदहरूको बलिदानलाई संस्थागत रूपमा सम्झना गरियो। सहिद मनोज जोशी २०४८ सालको ५६ दिने ऐतिहासिक कर्मचारी आन्दोलनका क्रममा खोटाङमा प्रहरीको गोली लागी सहादत प्राप्त गर्नुभएको थियो। झपेन्द्र कार्की २०४७ सालको परिवर्तनमुखी आन्दोलनमा सरकारी सम्पत्ति जोगाउने क्रममा वीरगतिको प्राप्तिमा पुग्नुभयो। यस्तै, सुरेन्द्र बिक २०६४ माघ ८ गते कार्यक्षेत्रबाट फर्किने क्रममा अज्ञात समूहको हमलामा ज्यान गुमाएका तत्कालीन मुगु जिल्ला संगठन अध्यक्ष हुनुहुन्थ्यो। यी सहिदहरूको स्मृतिमा मनाइने दिवसले निजामती कर्मचारी आन्दोलनको ऐतिहासिक गाथालाई जीवन्त बनाउँदै आउनुका साथै संगठनको योगदानप्रति श्रद्धाभाव व्यक्त गर्ने अवसर प्रदान गरेको छ।
