खेलकुद राष्ट्रिय एकताको प्रतीक हो

खेलकुद केवल शारीरिक तन्दुरुस्तीको माध्यम मात्र होइन, यो राष्ट्रिय भावनाको अभिव्यक्ति र एकताको बलियो आधार हो। जात, धर्म, भाषा, लिङ्ग, वर्ग, क्षेत्र वा विचार जस्ता विविधताबीच पनि जब राष्ट्रिय टोली एउटै झन्डामुनि मैदानमा उत्रन्छ, तब सम्पूर्ण राष्ट्र एउटै स्वरमा उत्साह व्यक्त गर्छ। फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, कबड्डीजस्ता खेलहरूले नेपालका कुनाकाप्चाबाट आएका खेलाडीलाई एउटै पहिचान, एउटै उद्देश्य र एउटै गौरवमा बाँधिदिन्छन्। खेलको मैदानमा जातीयता, राजनीति वा भाषा होइन, प्रतिभा र अनुशासनको मूल्यांकन हुन्छ – र यही निष्पक्षता राष्ट्रिय एकताको आधार बन्न जान्छ।

खेलकुदले युवा पुस्तालाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रति समर्पित बनाउँछ। गाउँदेखि राजधानीसम्म, विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेलकुदले सन्देश दिन्छ– हामी सबै नेपाली हौँ, हामी एउटै राष्ट्रिय झन्डामुनि छौँ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जित्दा सम्पूर्ण जनतामा गर्व, उत्साह र आशाको ज्वार उठ्छ, जुन भावनाले राष्ट्रप्रतिको अपनत्व र सामूहिकता बलियो बनाउँछ। यदि राज्यले खेलकुद क्षेत्रमा आवश्यक लगानी, पूर्वाधार, नीति र प्रोत्साहनको व्यवस्था गऱ्यो भने खेलकुद राष्ट्रिय एकता मात्र होइन, समृद्धिको मेरुदण्ड बन्न सक्छ। त्यसैले खेलकुद कुनै एक क्षेत्रको सम्पत्ति होइन, यो सम्पूर्ण राष्ट्रको गौरव हो– जो विविधताबीच एकता र सहकार्यको उज्यालो प्रतीक बन्न सफल भएको छ। 

प्रतिक्रिया