मास मिडिया संवादाता (काठमाडौँ)– कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो।
समारोहमा सांसद ज्ञानेन्द्र बहादुर शाही, कान्तिका सेजुवाल, दयाल बहादुर शाही, पूर्वमन्त्री मोहन बानियाँ, एमाले नेता गोरख बहादुर बोगटी, शान्तिलाल महतसहित कर्णाली प्रदेशका बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति रहेको थियो। दीपक शर्माको शब्द र संगीतमा तयार गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको स्वर छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्।
कार्यक्रममा मन्त्री शाहीले कर्णाली प्रदेशलाई राज्यको मूल प्रवाहमा ल्याउन सबै दल र जनप्रतिनिधि एकमतका साथ अघि बढिरहेको बताएका थिए। अन्य वक्ताहरूले कर्णालीको विकासमा कला र संस्कृतिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
गीतको म्युजिक भिडियोमा विनोद शाही र दीपा शाहीको अभिनय छ। भिडियोलाई विनोद शाहीले निर्देशन गरेका छन्। भूपेन्द्र थापामगरको छायांकन र माधव बेलबासेको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।