MMI- लुम्बिनी बौद्ध विश्वविद्यालयले साउथ एसिया फाउण्डेशन र भारतीय दूतावासको सहकार्यमा हालै सम्पन्न गरेको विशेष गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका उच्च अधिकारीहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गोष्ठीको मूल उद्देश्य बौद्ध दर्शनमा आधारित वैश्विक शान्ति र कूटनीतिक सम्बन्ध प्रवर्द्धन गर्नु थियो, साथै लुम्बिनीलाई शान्ति अनुसन्धानको एक प्रमुख अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको थियो।
कार्यक्रममा संसारका संकटग्रस्त क्षेत्रहरूमा संवाद तथा समाधान प्रवाह गर्न बौद्ध पर्यावरणीय कूटनीति केन्द्र स्थापना गर्नुपर्ने धारणा व्यक्त गरियो। बुद्धका शिक्षामा आधारित करुणा, सहअस्तित्व र अन्तरनिर्भरता जस्ता सिद्धान्तहरूलाई व्यवहारमा ल्याई वातावरणीय शान्ति स्थापनामा योगदान दिन सकिने निष्कर्ष निकालिएको थियो। यस्तै, कूटनीतिज्ञहरूलाई ‘माइन्डफुलनेस’मा आधारित तालिम दिनुपर्ने प्रस्तावसमेत अघि सारियो।
गोष्ठीमा बौद्ध मूल्य र नैतिकताका आधारमा कूटनीतिक आचरण तय गर्नुपर्ने, नेपाल र भारतका प्रमुख बौद्ध तीर्थस्थलहरूमा शान्ति पर्यटन प्रवर्द्धन गर्नुपर्ने, र यसबाट सांस्कृतिक आदानप्रदान र पारस्परिक समझदारी मजबुत बनाउने सुझावहरू उठाइएको थियो। यसले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई अझै गहिरो बनाउने अपेक्षा गरिएको छ।
युवाहरूलाई बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासमा संलग्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्था गठन गर्ने घोषणा गरियो। साथै बुद्ध चिन्तनमा आधारित नैतिक कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्० प्रणाली विकास गरी द्वन्द्व पूर्वानुमान, गलत सूचना नियन्त्रण र ध्यानमार्गदर्शनमा उपयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।
गोष्ठीको अन्त्यमा ‘लुम्बिनी शान्ति सूचकाङ्क’ स्थापना गर्ने निर्णयसहित, बौद्ध भिक्षुहरूमाझ थिङ्क ट्याङ्क निर्माण गरी विश्वव्यापी संकट समाधानमा दार्शनिक र नैतिक मार्गदर्शन प्रदान गरिने भनिएको थियो। ‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ हरेक वर्ष आयोजना गरिने र बौद्ध कानुनी दर्शनमा अनुसन्धान प्रवर्द्धन गरिने योजना सार्वजनिक भयो। उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आगामी वर्षहरूमा यस्ता गोष्ठीहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।