काठमाडौँ - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतका आधारमा पारित भएको छ। बुधबार प्रदेश सरकारको तर्फबाट पेश गरिएको उक्त नीति तथा कार्यक्रम सोमबारको बैठकमा छलफलपछि अनुमोदन गरिएको हो। नीति तथा कार्यक्रमले प्रदेशको सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासमा केन्द्रित रहने जनाइएको छ।
उक्त नीति तथा कार्यक्रम कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेका थिए। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी स्वास्थ्य उपचारका लागि अमेरिका गएकाले उनको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सो नीति तथा कार्यक्रममाथि दुई दिनसम्म गहन छलफल भएको थियो। छलफलका क्रममा २३ जना प्रदेशसभा सदस्यहरूले आ–आफ्ना विचार तथा सुझाव राखेका थिए। उनीहरूले सरकारको नीति तथा कार्यक्रमको विभिन्न बुँदाबारे समर्थन, सुझाव तथा आलोचना प्रस्तुत गर्दै कार्यान्वयनको चरणमा प्रभावकारिता सुनिश्चित गर्न आग्रह गरेका थिए। धेरै सदस्यहरूले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी प्रवर्द्धन जस्ता विषयमा गहिरो ध्यान पुर्याउनुपर्ने आवश्यकता औँल्याएका थिए।