म्याग्दी, २३ चैत : बेनी नगरपालिका–४ सिङ्गा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् ।
बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका हुन । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिङ्गाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘साङ्केतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो । जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय साङ्केतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्नुहुन्छ । चिया, खाजा, जेरी, तरकारी, याममा अरिङ्गाल, माछा, मासु र खानाका परिकार उनिहरु आफँै तयार पार्छन् ।
स्थानीयवासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि साङ्केतिक भाषामा ग्राहकले कुराकानी गर्छन् । फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनिहरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराए । म्याग्दीका जलविद्युत् आयोजनाहरूमा परामर्शदाताका रूपमा काम गर्दै आउनुभएका शङ्कर बस्यालले सरसफाइ र आत्मीय व्यवहारका कारण साङ्केतिक भाषा खाजाघरलाई रोजेको बताएका छन् । “उहाँहरू नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्नुहुन्छ”, उनले भने “ठाउँको सरसफाइ र परिकार ‘हाइजेनिक’ हुने भएकाले राम्रो लाग्छ ।”
दैनिक पाँच हजार रुपैयाँको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताउछन् । दसैँ, तिहार र चाडपर्वका समयमा व्यापार अलि बढी हुन्छ । हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गरेका छन भने अमृतले १२ कक्षा उत्तीर्ण गरेका छन् ।
धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शङ्कर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिङ्गामा आएका थिए। शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुचि थियो । घारबाट रु तीन लाख ल्याएर घर भाडामा लिएर व्यवसाय सुरु गरेको अमृत सम्झछन् । हाल व्यवसायमा करिब रु १० लाखको लगानी छ ।
सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताउछन् ।
२२ चैत २०८२, सोमबार ०८:३३ मा प्रकाशित