प्राकृतिक प्रकोपको जोखिम बढेसँगै सिन्धुली प्रशासन सक्रिय

सिन्धुली — जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका सबै नौ पालिकालाई संभावित बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै तत्काल राहत र उद्धारको तयारी गर्न निर्देशन दिएको छ। हालै सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पारित निर्णयअनुसार प्रशासनले सातबुँदे निर्देशनसहितको पत्र सबै पालिकामा पठाएको हो। उक्त निर्देशनले विपद् जोखिम बढ्दै गएको अवस्थामा स्थानीय तहको सक्रियता र समन्वयमा जोड दिएको छ।

प्रशासनले जारी गरेको निर्देशनमा जोखिमपूर्ण स्थानमा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न, सडकहरू खुला राख्न डोजर, इन्धन र चालक तयारी अवस्थामा राख्न तथा पालिकास्तरमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत सबै शाखा प्रमुखहरू सम्मिलित ह्वाट्सएप ग्रुप बनाउने कुरा उल्लेख छ। साथै, विपद् प्रभावित क्षेत्रहरूमा २० मिनेटभित्र सुरक्षाकर्मी र उद्धार टोली पुग्न सक्ने व्यवस्था मिलाउन र सबै सुरक्षा निकायहरूबीच समन्वय गरेर संयुक्त उद्धार टोली गठन गर्न पनि निर्देशन दिइएको छ।

प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जनप्रियसँगको कुराकानीमा जोखिमपूर्ण क्षेत्रहरूमा तत्काल उद्धार र सुरक्षाको सुनिश्चितता मिलाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका सबै सुरक्षा निकायहरूसँग छलफल गरी साझा उद्धार टोली निर्माण भइसकेको छ, जसले कुनै पनि आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सक्षम हुनेछ। जिल्ला प्रशासनले सबै पालिकालाई सतर्क रहन, तयारीलाई तीव्र पार्न र जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्पष्ट निर्देशन दिएको छ।

प्रतिक्रिया