अध्यात्म: एक रहस्यको विज्ञान

अध्यात्म भन्नेबित्तिकै धेरैलाई यो केवल धर्म, पूजा, वा ध्यान–साधनाको कुरा लाग्न सक्छ, तर वास्तवमा अध्यात्म एउटा गहिरो वैज्ञानिक प्रणाली हो, जसले आत्मा, चेतना, अस्तित्व र ब्रह्माण्डका सूक्ष्म सम्बन्धहरू बुझ्न खोज्दछ। यो कुनै अन्धविश्वास होइन, बरु गहन अन्वेषण, आन्तरिक प्रयोग, अनुभूति र अवलोकनको प्रक्रिया हो। भौतिक विज्ञानले जहाँ पाँच इन्द्रियले अनुभव गर्न सक्ने पदार्थ र ऊर्जाको अध्ययन गर्छ, अध्यात्मिक विज्ञानले त्यसपारिको चेतना, आत्मा र ब्रह्मको अनुसन्धन गर्छ। ध्यान, मौन, एकाग्रता, प्राणायामजस्ता अभ्यासहरूले चेतनालाई केन्द्रित गरेर आत्मसाक्षात्कार गराउने यो मार्गले भित्र लुकेका सत्यहरू उजागर गर्छ। यो संसारले देखेको भन्दा धेरै गहिरो सत्य अध्यात्ममा लुकेको हुन्छ, जसलाई केवल अनुभवबाट मात्र बुझे पनि वैज्ञानिक सोचबाट प्रमाणित गर्न सकिन्छ।

अध्यात्ममा प्रयोगशाला हाम्रो शरीर हो, उपकरण हाम्रो श्वासप्रश्वास, विचार, हृदय र चेतना हुन्, र अनुसन्धानकर्ताको भूमिका साधक आफैँले निर्वाह गर्नुपर्छ। हरेक ध्यानको पल, प्रत्येक प्राणायामको गति र प्रत्येक मौनताको गहिराइले हामीलाई आत्म–चेतनाको नयाँ तहमा पुर्‍याउँछ। योग, वेदान्त, उपनिषद्, बौद्ध ध्यानशास्त्र वा तन्त्र विद्या सबैले चेतनाको विज्ञान प्रस्तुत गरेका छन्, जसको उद्देश्य आत्मा र ब्रह्मबीचको एकता अनुभव गर्नु हो। यो विज्ञानले जीवन र मृत्युको रहस्य, पुनर्जन्मको प्रक्रिया, कर्म र मुक्ति जस्ता विषयलाई दार्शनिक रूपमा मात्र होइन, वैज्ञानिक दृष्टिबाट बुझ्न सक्ने आधार दिन्छ। संसारका धेरै वैज्ञानिकहरूले पनि अब अध्यात्मका सिद्धान्तहरूमा रुचि देखाउन थालेका छन्, किनकि यो चेतनाको उचाइसँग सम्बन्धित विषय हो, जुन आधुनिक विज्ञानको सीमाभन्दा परको कुरा हो।

अन्ततः अध्यात्म न कुनै सम्प्रदायको एकाधिकार हो, न कुनै जात, धर्म वा देशको सिमामा बाँधिएको विचार। यो सम्पूर्ण मानव जातिको साझा सम्पत्ति हो, जसले मानिसलाई भित्रैदेखि शुद्ध, सहिष्णु, शान्त र जागरूक बनाउँछ। आत्म–बोध, करुणा, अहिंसा र समर्पण अध्यात्मका मूलधारा हुन्, जसले समाजमा नैतिकता र समरसता ल्याउँछ। यदि हरेक मानिसले आफ्नै अन्तरात्मासँग संवाद गर्न सके, चेतनाको गहिराइमा पस्न सके भने बाह्य द्वन्द्व, हिंसा, लोभ, मोह र अहंकारको अन्त्य हुने थियो। त्यसैले अध्यात्म रहस्य अवश्य हो, तर त्यो रहस्यलाई बुझ्न सकिने विज्ञान पनि हो – अनुभव, साधना, अनुशासन र आत्मसमर्पणको माध्यमबाट। यो रहस्यले जीवनको सार र ब्रह्माण्डको एकत्व देखाउने मार्ग हो, जुन मानव चेतनाको उच्चतम अनुसन्धान हो।

प्रतिक्रिया