सावर्णि मन्वन्तरको गुरुपूर्णिमामा विविध क्षेत्रका अग्रज तथा गुरुलाई सम्मान गरिँदै

काठमाडौं, – सावर्णि मन्वन्तरको ३० अंश सुधार गरिएको पात्रोअनुसारको गुरुपूर्णिमाको पावन अवसरमा विविध क्षेत्रका गुरुहरूलाई सम्मान गर्ने तथा गुरुपूर्णिमाको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्वबारे विचार विमर्श गर्ने विशेष कार्यक्रम राजधानीमा आयोजना हुँदैछ।

पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा धार्मिक, ज्योतिष, साहित्यिक, बौद्ध, समाजसेवा, जेष्ठ नागरिक, खेलकुद, यातायात, सामाजिक अभियान तथा तान्त्रिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई गुरुसम्मान प्रदान गरिनेछ। समाजका विभिन्न पाटा–पाखाबाट योगदान दिएका व्यक्तिहरूलाई एउटै मञ्चमा सम्मान गरिने यो कार्यक्रम उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रम २०८२ साल जेठ २८ गते बुधबार, दिउँसो १२:३० बजे, कृपा भेन्यू, कलंकीमा हुनेछ। समाजमा आध्यात्मिकता, ज्ञान र नैतिकताको जग बलियो बनाउने गुरूहरूको योगदानबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम सर्वसाधारण, बुद्धिजीवी, अध्यात्मप्रेमी तथा सामाजिक अभियन्ताहरूका लागि विशेष आकर्षण बन्ने आयोजकहरूको विश्वास छ।

केन्द्रीय अध्यक्ष प्रा.डा. जयन्त आचार्यले सम्पूर्ण श्रद्धालु, साधक, अध्ययनशील तथा समाजप्रेमी महानुभावहरूलाई कार्यक्रममा सहभागिता जनाई गुरुपूर्णिमाको महत्त्वलाई उजागर गर्न आग्रह गरेका छन्। गुरुपूर्णिमाको मूल भावनालाई पुनः स्मरण गराउने र गुरुप्रति कृतज्ञता प्रकट गर्ने यो अवसर विशेष हुनेछ।

प्रतिक्रिया