मास मिडिया संवादाता (काठमाडौँ)– नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेसी तोकेको छ।
बस्नेतमाथि पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा २०८१ पुस १४ गते मुद्दा दर्ता गरिएको थियो। अदालतले कँडेललाई पनि दोषी ठहर गरेको छ। उनले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्नका लागि मेयर बस्नेतलाई घुस दिएको पुष्टि अदालतले गरेको हो।
तर, बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने सफाइ दिइएको छ। अदालतले घुस लिने वा रकम प्रयोग गर्ने कुनै प्रमाण नपाएको भन्दै उनलाई निर्दोष ठहर गरेको हो।अब अदालतले असार १६ गते दुवै दोषीमाथि कति सजाय हुने हो भन्ने निर्णय गर्नेछ।