MMI संवादाता- सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७,३०० रुपैयाँबाट बढाएर १९,५५० रुपैयाँ पुर्याउने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी यो निर्णय सार्वजनिक गरेको हो। यो कदम श्रमिकको जीवनस्तर सुधार गर्न र महँगीको प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्णयलाई श्रमिकको श्रम र योगदानप्रतिको सम्मानको रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव छ।” उनको भनाइमा सरकारले लिएको यो कदम श्रमिकप्रति भरोसा र जिम्मेवारीको संकेत हो।
यसअघि सरकारले श्रमिकलाई लक्षित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ, जसमा हालसम्म झण्डै २१ लाख श्रमिक आबद्ध भइसकेका छन्। पारिश्रमिक वृद्धि र सामाजिक सुरक्षाका कार्यक्रमहरूले श्रमिकलाई दीर्घकालीन सुरक्षा र सम्मान दिन मद्दत गर्ने विश्वास गरिएको छ।