एमएमआई संवाददाता- नेकपा एमालेका नेता महेश बस्नेतले एक अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारे टिप्पणी गर्दै भनेका छन् कि २०८४ सालको चुनावमा रास्वपाले एक सिट पनि जित्न सक्नेछैन। उनले रास्वपाले राष्ट्रवादको आवरणमा मतदातालाई आकर्षित गर्न खोजे पनि व्यवहारमा जनताको भरोसा जित्न नसकेको बताए। बस्नेतका अनुसार, अबको समयमा मतदाताले स्थिरता, अनुभव र काम गर्न सक्ने क्षमता भएको उम्मेदवार रोज्न थालेका छन्। उनले चितवन–२ को चुनावी परिणामलाई उदाहरण दिँदै भने, जनताले सरकारसँग मिलेर विकासमा लाग्ने उम्मेदवारलाई प्राथमिकता दिएका छन्।
उनले रास्वपा अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै भने, मयूरको प्वाँख लगाएर जनता झुक्याउने शैली अब टिक्दैन। बस्नेतका अनुसार रास्वपाले प्रचारमा धेरै जोड दिए पनि त्यसको व्यवहारिक काम देखाउन सकेन। जनताले अब नारा होइन, काम माग्ने अवस्था आएको उनले बताए। बस्नेतले एमाले र कांग्रेसजस्ता परिपक्व पार्टीहरूले नै अबको राजनीतिक दिशा तय गर्ने समय आएको भन्दै नयाँ पार्टीहरू केवल भ्रम छर्न खोज्दै हिँडेको टिप्पणी गरे।