कांग्रेसले फेरि गर्‍यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?

काठमाडौँ - नेपाली कांग्रेसले एक पटक फेरि मधेस प्रदेशको सरकारको नेतृत्व गर्ने दाबी गरेको छ। प्रदेशमा पुगेका कांग्रेसका हरेक शीर्ष नेताले सरकार अब आफ्नो पार्टीको नेतृत्वमा बन्ने दाबी गर्दै आएका छन्। शुक्रबार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेस प्रदेश कार्यालय पुगेका थिए। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “अब मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ।” उनले आलोपालो सरकार सञ्चालनको सहमतिअनुसार अबको पालो कांग्रेसको भएकाले छिट्टै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताए।

यसअघि, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले पनि मधेस प्रदेशमा कांग्रेसको सरकार बन्ने बताएका थिए। उनले भनेका थिए, “हामीले पालोपालो सरकार सञ्चालन गर्ने सहमति गरेका छौं। मधेसमा पनि त्यो सहमतिअनुसार परिवर्तन हुन्छ। कांग्रेसको नेतृत्वमा सरकार गठन हुने समय आएको छ।” त्यसअघि कांग्रेसका महासचिव विश्वप्रकाश शर्मा पनि सिराहाको लहान पुगेका थिए। उनले त्यहाँ आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्नेमा विशेष जोड दिएका थिए।

प्रतिक्रिया