बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

MMI संवादाता- हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि विधिपूर्वक प्रारम्भ भएको छ। घटस्थापनासँगै सुरु हुने यो पर्वलाई शक्ति र श्रद्धाको प्रतीकका रूपमा लिइन्छ। नेपाली हिन्दु धर्मावलम्बीहरूले आज बिहानै घर–घरमा स्नान गरी शुद्ध भई पूजा कोठा वा दसैं घरमा वैदिक विधिअनुसार देवी दुर्गाको आह्वान गरी घटस्थापना गरेका छन्। घटस्थापनामा दियो, कलश, जौको बीउ (सम्पन्नताका प्रतीक) र गणेशको स्थापना गरी दुर्गाको पूजा आरम्भ गरिन्छ। यसरी स्थापना गरिएको जमरा  दशौं दिन टीकासँगै ग्रहण गरिन्छ, जुन आशिष, उर्वरता र समृद्धिको प्रतीक मानिन्छ।

बडा दसैं नेपाली समाजको सबैभन्दा लामो र महत्त्वपूर्ण पर्व हो, जसले पारिवारिक, सामाजिक र धार्मिक मूल्यलाई अझ गहिरो बनाउने काम गर्छ। घटस्थापनाको दिनदेखि नै नवदुर्गाको पूजा सुरु हुन्छ, जसअन्तर्गत हरेक दिन दुर्गाका फरक–फरक स्वरूपको आराधना गरिन्छ। दुर्गा पक्षभर देशभरका मन्दिरहरूमा विशेष पूजाआजा, भगवती जागरण, भक्तजनहरूको भिड, पाठ पूजा, होम र विभिन्न धार्मिक क्रियाकलाप गरिन्छ। विशेषगरी देवीको शक्ति प्राप्तिका लागि यो पर्वलाई विशेष अवसरका रूपमा लिने गरिन्छ। कतिपय स्थानमा दशैं घरमा वैदिक पण्डितहरूमार्फत चण्डीपाठ, नवदुर्गा पूजा र हवन लगायतका विधिहरू पनि सम्पन्न गरिन्छन्।

दसैंले धार्मिक मात्र नभई सामाजिक एकता, मेलमिलाप र पारिवारिक पुनर्मिलनको वातावरण सिर्जना गर्छ। टाढा रहेका आफन्तहरू घर फर्किने, परिवारका सबै सदस्य एकै थलोमा भेला हुने यो अवसरलाई नेपालीहरूले विशेष रूपमा मनाउने गर्छन्। विद्यालय, कलेज, कार्यालयहरूमा बिदा हुने र बजारहरूमा चहलपहल बढ्ने हुँदा यो पर्वले राष्ट्रिय उत्सवको रूप समेत लिन्छ। बडा दसैंलाई असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा लिने गरिन्छ, जसले समाजमा सकारात्मक ऊर्जा फैलाउने काम गर्छ। आज घटस्थापनासँगै सुरु भएको दसैंको रौनक अब दिन प्रतिदिन बढ्दै जानेछ।

प्रतिक्रिया