नेपाल फेरि एक महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ। फागुन २१ गते हुने निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया होइन, यो हाम्रो राजनीतिक संस्कार, नेतृत्वको चरित्र र राष्ट्रको भविष्यको दिशाबारे निर्णय गर्ने क्षण हो। चुनावले कस्तो सरकार बन्छ भन्ने मात्र तय गर्दैन, यसले कस्तो राजनीतिक संस्कृति स्थापित हुन्छ भन्ने पनि निर्धारण गर्छ।
पछिल्ला वर्षहरूमा सार्वजनिक मञ्चहरूमा देखिएको एउटा चिन्ताजनक प्रवृत्ति भनेको आक्रामक, उत्तेजित र औँलो ठड्याएर बोल्ने शैली हो। यस्तो शैलीले केही समयका लागि भीडको ताली त ल्याउन सक्छ, तर यसले समाजमा अविश्वास, विभाजन र द्वन्द्वको बीउ रोप्छ। लोकतन्त्र बहसको प्रणाली हो, धम्कीको होइन। मतभेद स्वाभाविक हुन्छ, तर मतभेदलाई वैमनस्यमा रूपान्तरण गर्नु जिम्मेवार नेतृत्वको चिन्ह होइन।
जनतालाई अहिले क्रान्तिका नारा होइन, शान्ति र स्थायित्व चाहिएको छ। लामो राजनीतिक संक्रमण, सरकार परिवर्तनको श्रृंखला र नीतिगत अस्थिरताले नागरिकहरू थाकिसकेका छन्। रोजगारीको खोजीमा युवाहरू विदेशिन बाध्य छन्। व्यवसायीहरू नीतिगत अनिश्चितताबाट चिन्तित छन्। किसान उत्पादनको उचित मूल्य नपाएर निराश छन्। अभिभावकहरू गुणस्तरीय शिक्षाको अभावमा चिन्तित छन्। यस्तो अवस्थामा देशलाई उत्तेजना होइन, समाधानमुखी नेतृत्व चाहिन्छ।
नेताको भाषण केवल शब्दको खेल होइन, त्यो उसले बोक्ने मूल्य र दृष्टिकोणको प्रतिबिम्ब हो। जसले सार्वजनिक रूपमा औँलो ठड्याएर बोल्छ, उसले सहकार्यभन्दा टकरावलाई प्राथमिकता दिन्छ भन्ने सन्देश जान्छ। नेतृत्व भनेको अरूलाई सँगै लिएर अघि बढ्ने कला हो। इतिहासले पनि देखाएको छ कि मेलमिलाप र सहमतिबाटै दिगो शान्ति सम्भव हुन्छ। नेल्सन मन्डेलाले प्रतिशोधभन्दा मेलमिलापलाई प्राथमिकता दिएर राष्ट्रलाई द्वन्द्वबाट शान्तितर्फ डोर्याए। त्यस्तै, बि.पी. कोइरालाले विचार र सिद्धान्तको राजनीतिलाई महत्व दिएका थिए, व्यक्तिगत आक्रोशलाई होइन।
हामीकहाँ पनि अब त्यस्तै परिपक्व राजनीतिक संस्कृतिको आवश्यकता छ। लोकतन्त्रको सार बहुलता, सहिष्णुता र संवादमा निहित हुन्छ। यदि नेताहरूले असहमति व्यक्त गर्दा नै आक्रोश र धम्कीको भाषा प्रयोग गर्छन् भने उनीहरूबाट संसद, सरकार वा स्थानीय तहमा सहकार्यको अपेक्षा कसरी गर्न सकिन्छर, विभाजनकारी शैलीले अल्पकालीन लाभ दिलाए पनि दीर्घकालीन रूपमा राष्ट्रलाई कमजोर बनाउँछ।
फागुन २१ को निर्वाचनमा मतदाताको भूमिका निर्णायक छ। मतपत्र केवल अधिकार होइन, जिम्मेवारी पनि हो। हामीले भावनात्मक उत्तेजनामा होइन, विवेकमा आधारित निर्णय गर्नुपर्छ। उम्मेदवारले कति ठूलो स्वरमा बोले भन्नेभन्दा उसले कति स्पष्ट योजना प्रस्तुत गर्यो भन्ने मूल्यांकन गर्नुपर्छ। उसले विगतमा कस्तो व्यवहार देखायोर ? ऊ संवादमा विश्वास गर्छ कि आरोप–प्रत्यारोपमार ? ऊ समाजलाई जोड्ने प्रयास गर्छ कि ध्रुवीकरण गर्नेर?
देशलाई अहिले स्थिर नीति, पारदर्शी शासन र परिणाममुखी कार्यसम्पादन चाहिएको छ। शान्तिपूर्ण वातावरण बिना विकास सम्भव हुँदैन। विदेशी लगानी, आन्तरिक उत्पादन, पर्यटन र उद्योग सबैलाई स्थायित्व र विश्वासको वातावरण आवश्यक पर्छ। यदि राजनीतिक नेतृत्व नै निरन्तर टकरावको भाषा बोलिरह्यो भने आर्थिक र सामाजिक प्रगति अवरुद्ध हुन्छ।
त्यसैले यो चुनावमा हाम्रो छनोट केवल व्यक्ति वा दलको होइन, राजनीतिक संस्कारको छनोट हो। हामीले कस्तो भाषा र शैलीलाई स्वीकार गर्छौँ भन्ने निर्णयले भविष्यको दिशा तय गर्छ। औँलो ठड्याएर बोल्ने, समाजलाई विभाजन गर्ने र उत्तेजनालाई राजनीतिक हतियार बनाउने नेताहरूलाई भोट नहालौँ। संयम, सहकार्य र शान्तिको बाटो रोज्ने नेतृत्वलाई अवसर दिऔँ।
लोकतन्त्रको सुन्दरता विविध विचारलाई सम्मान गर्दै साझा लक्ष्यतर्फ अघि बढ्नुमा छ। क्रोधले क्षणिक उत्साह दिन सक्छ तर दिगो समाधान दिन सक्दैन। फागुन २१ गते मतदान गर्दा शान्ति, स्थायित्व र सभ्य राजनीतिक संस्कृतिको पक्षमा उभिऔँ। जनतालाई अब नारा होइन, नतिजा चाहिएको छ, विभाजन होइन, एकता चाहिएको छ।