एमएमआई संवाददाता: काठमाडौं, साउन १ – हिन्दू धर्मालम्बीहरूको लागि विशेष धार्मिक महत्व बोकेको साउन महिनाको पहिलो सोमबार आज देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। राजधानीको प्रमुख शिव तीर्थस्थल गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु भक्तजनहरूको ठूलो भिड देखिएको छ। हरियो वस्त्र, रातो चुरा र विशेष पूजा सामग्रीसहित श्रद्धालुहरू दर्शनका लागि लामबद्ध भएका छन् ।
गोकर्णेश्वर मन्दिर परिसरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ भने भक्तजनहरूको सुविधाका लागि नगरपालिकाले पिउने पानी, प्राथमिक उपचार र जानकारी केन्द्रको व्यवस्था मिलाएको छ। विशेष गरी महिलाहरू व्रत बसेर शिवलाई बेलपत्र, दुध, जल र अक्षता अर्पण गर्दै वरको दीर्घायु र परिवारको सुख–समृद्धिका लागि प्रार्थना गरिरहेका छन्। मन्दिरका पुजारीका अनुसार, आज करिब ५० हजारभन्दा बढी भक्तजनको आगमन भएको अनुमान गरिएको छ।
साउन महिनाको सोमबारलाई शिवको विशेष दिन मानिने भएकाले देशैभर धार्मिक उत्साह छाएको छ। यस वर्षको साउनमा झनै बढी भीडभाड देखिएको छ। स्थानीय युवाहरू स्वयंसेवकको भूमिकामा सक्रिय भएर मन्दिर व्यवस्थापनमा सहयोग पुर्याइरहेका छन् भने मन्दिरको सांस्कृतिक महत्व झल्काउने विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको छ।