संसद् विघटनविरुद्धको रिटमा फागुन ८ गतेलाई सर्वोच्चको साधारण तारेख

मास मिडिया संवादाता (काठमाडौं)-  संसद् विघटनविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले फागुन ८ गते साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजकै दिनका लागि साधारण तारेख निर्धारण गरेको थियो।

आज साधारण तारेख तोकिएकाले मुद्दा पेशीमा चढ्ने अपेक्षा गरिएको थियो। तर, अपेक्षाअनुसार पेशीमा चढाइएन। सर्वोच्च अदालतको मुद्दा शाखाले उक्त रिटलाई आजको सूचीमा समावेश नगरी पुनः नयाँ मिति तय गरेको हो।

यसअनुसार अब उक्त मुद्दाको साधारण तारेख फागुन ८ गतेका लागि तोकिएको छ। सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा पेशी नचढाई पुनः साधारण तारेख तोकेपछि रिट निवेदकमध्येका युवराज सफलले कडा आपत्ति जनाएका छन्। अदालत प्रशासनको पछिल्लो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसलाई न्यायिक प्रक्रियामा गम्भीर लापरबाहीको रूपमा लिएका छन्।

सफलका अनुसार, आज पेशी चढ्ने अपेक्षामा आफू अदालत पुगेको भए पनि मुद्दा सूचीमा समावेश नगरी पुनः साधारण तारेख तोकिएको जानकारी दिइएको थियो। उनले आफूले पुनः तारिख लिन अस्वीकार गरेको बताएका छन्। “मुद्दाको सुनुवाइ गर्नुपर्ने समयमा पेशी नै नचढाउनु न्यायिक जिम्मेवारी विपरीत हो,” उनले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया