मास मिडिया संवादाता (काठमाडौं)- निर्माण क्षेत्रसँग सम्बन्धित प्रविधि, सामग्री र सेवाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । आयोजकका अनुसार एक्सपोमा नेपाल र भारतका गरी २०० भन्दा बढी स्टलहरू सहभागी रहेका छन्, जसमा निर्माण सामग्री, डेकोरेसन, इन्जिनियरिङ, आर्किटेक्चर, मेसिनरी तथा नयाँ प्रविधि प्रदर्शन गरिनेछ ।
एक्सपोले घर तथा पूर्वाधार निर्माणमा प्रयोग हुने अत्याधुनिक सामग्री र प्रविधिबारे उपभोक्ता, व्यवसायी, इन्जिनियर र आर्किटेक्टलाई एउटै स्थानमा जानकारी दिने लक्ष्य लिएको आयोजकले जनाएको छ । सिमेन्ट, स्टिल, टायल्स, स्यानिटरीवेयर, पेन्ट, इलेक्ट्रिकल तथा प्लम्बिङ सामग्रीदेखि स्मार्ट होम प्रविधिसम्मका उत्पादनहरू एक्सपोमा अवलोकन गर्न सकिनेछ ।
यसका साथै इन्टेरियर तथा एक्स्टेरियर डेकोरेसन, ल्यान्डस्केपिङ, ऊर्जा दक्ष प्रविधि, हरित निर्माण सामग्री र भूकम्प प्रतिरोधी संरचनासम्बन्धी समाधानहरू पनि प्रदर्शनमा राखिएको छ । इन्जिनियरिङ तथा कन्स्ट्रक्सन क्षेत्रमा प्रयोग हुने नयाँ उपकरण, मेसिन र प्रविधिले निर्माण क्षेत्रको गुणस्तर र समय व्यवस्थापनमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा पनि जानकारी दिइने आयोजकको भनाइ छ ।
एक्सपो अवधिभर विभिन्न प्राविधिक प्रस्तुति, अन्तरक्रिया र व्यवसायिक भेटघाट कार्यक्रमसमेत आयोजना गरिने छन् । यसले निर्माण व्यवसायी, सप्लायर, इन्जिनियर तथा लगानीकर्ताबीच सहकार्य र व्यापार विस्तारका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।