MMI संवादाता- नेकपा एमालेको हालै सम्पन्न पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता हालसम्म नवीकरण नभएको जानकारी दिँदै यस विषयमा तत्काल निर्णय नगर्न निर्देशन दिए। उनले भण्डारीजस्तो संवेदनशील भूमिकाबाट फर्किएकी नेताले पार्टीको औपचारिक प्रक्रिया र विधिसम्मत निर्णयको पालना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे। बैठकमा सहभागी अधिकांश नेताहरूले पनि विषयलाई संवेदनशील ठहर गर्दै थप छलफल आवश्यक रहेको बताएपछि यो निर्णय पेन्डिङमा राखिएको हो।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया अहिलेसम्म औपचारिक रूपमा टुंगोमा पुगेको छैन। उनले भनेअनुसार, राष्ट्रपति बनेसँगै भण्डारीले पार्टी सदस्यता स्वतः निष्क्रिय भएको थियो र नवीकरणका लागि एमालेको विधानअनुसार केन्द्रीय निर्णय आवश्यक पर्छ। विधानको धारा ८ र ९ अनुसार यस्तो किसिमको सदस्यता पुनः सक्रिय गर्न पार्टीको उच्च निकायको स्वीकृति अनिवार्य मानिन्छ।
यता, संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आफैंले सदस्यता नवीकरणको प्रक्रियामा चासो दिँदा गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गरे। उनले “ठूलो गल्ती गरेँ” भन्दै जिम्मेवारी स्वीकारेपछि भण्डारीको सक्रिय राजनीति फर्किने चर्चा थप बलियो बन्यो। तर, भदौ २०–२२ मा हुने विधान महाधिवेशनमा भण्डारी प्रतिनिधिका रूपमा सहभागी नहुने निर्णयले संकेत दिन्छ कि हाललाई एमालेले उनलाई सक्रिय भूमिकाबाट टाढै राख्न चाहेको छ। यसले एमालेभित्र भण्डारीको भूमिकाबारे अझै स्पष्टता नआएको देखिन्छ।