MMI संवादाता- अब नेपालमा मस्तिष्क मृत्युपछि अंगदान गर्न चाहने व्यक्तिहरूले घरमै बसेर अनलाइन दर्ता गर्न सक्ने सुविधा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यो नयाँ प्रणालीको सुरुआत गर्दै अंगदान सम्बन्धी सम्पूर्ण जानकारी र दर्ता प्रक्रिया अनलाइनमै सहज हुने बताए। यो व्यवस्थाले इच्छुक नागरिकहरूले स्वास्थ्य संस्थामा नगईकनै आफू अंगदाता बन्ने चाहना सार्वजनिक गर्न सक्नेछन।
मन्त्री पौडेलका अनुसार, मस्तिष्क मृत्यु भएपछि अंग सुरक्षित राख्ने र समयमै प्रत्यारोपणको व्यवस्था मिलाउन अस्पतालहरूलाई पनि सजिलो हुने छ। अनलाइन प्रणालीमार्फत अस्पतालहरूले आवश्यक सूचना तत्काल प्राप्त गर्नेछन्, जसले अंग प्रत्यारोपण प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सरकारले भक्तपुर, पोखरा र सुर्खेतमा अंग प्रत्यारोपण सेवा सुरु गरिसकेको छ र अब बाँकी प्रदेशहरूमा पनि विस्तार गरिने योजना छ।
अंगदान प्रवर्द्धन गर्न सरकारले मृतकको परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने नीति ल्याएको छ। पहिले ५० हजार पाउँदै आएका अस्पतालहरूलाई अब ७५ हजार रुपैयाँ पारिश्रमिक दिइनेछ। साथै, मृगौला प्रत्यारोपण तथा डायलसिस सेवा सरकारले निःशुल्क रूपमा उपलब्ध गराइरहेको छ, जसले अंग प्रत्यारोपणमा सर्वसाधारणको पहुँच अझ सहज बनाउने विश्वास लिइएको छ।