हिन्दु राज्यको विस्तार भने के हाे ?

हिन्दु राज्यको विस्तार भने पनि
खस भाषाको प्रचार भने पनि
चाहे पृथ्वीलाई
सर्वसत्तावादी भन
चाहे नेपालको आजादी भन
त्यो बेला
टुक्राहरु जोड्नु पर्थ्यो
रुझानबाट बच्न
एउटै छाता ओड्नु पर्थ्यो
एकताको निम्ति
छोटे राजाले
गद्दी त छोड्नुपर्थ्यो।
----------

कथाले मागेको थियो,
उनको अभियान देखेर
उपनिवेश
क्याप लिएर भागेको थियो
के छिमेकमा उपनिवेश हुँदा
त्यहाँ जनजातिको
पहिचान बाँचेको थियो?
के छिमेकमा
मौलिकता रुँदा
आदिबासीको
स्वाभिमान हाँसेको थियो?
अनि यता अङ्ग्रेज छिरेको भए
मातृभाषा मौलाउँथ्यो
कि अङ्ग्रेजी बौलाउँथ्यो?
------+

पृथ्वी
व्यक्ति होइन
समय हो ।
जहाँ युगको पैताला
मनहरुमा पुल हाल्दै हिड्थ्यो
युद्धको बाटोमा
सद्भावको फूल छर्दै हिंड्थ्यो
उनले नजोडेको भए
न रहन्थ्यो बाँस
न बज्थ्यो यता बाँसुरी ।
न ठडिन्थ्यो
टाकुरी !
न फुल्थ्यो नेपाली लाँकुरी?
---------
उसले
गाँजेको भए
रेल आउँथ्यो होला
अलि सस्तो
तेल आउँथ्यो होला
थिएटर र खेल आउँथ्यो होला
तर हाक्पारे हुने थिएन
धाननाच र
पालामले धर्ती छुने थिएन
डम्फूको छाला
उहिल्यै ड्रमसेट भइसक्थ्यो
ध्वनि
साउण्ड भइसक्थ्यो
र वर्ण अल्फाबेट भइसक्थ्यो।
अनि एकीकरण
ठिक थएन त !

लेखक तथा रचनाकार
तारा बहादुर वुडाथाेकी

प्रतिक्रिया