MMI- भक्तपुर, साउन २२ – एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) द्वारा आयोजित "वादविवाद प्रतियोगिता" सुर्यविनायक वडा नं. ३ बालकोटस्थित ईडेन गार्डेन इङ्लिश स्कुलको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूमा तार्किक क्षमता, सार्वजनिक बोल्ने सीप तथा आलोचनात्मक सोचको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको थियो।

छात्रहरूका लागि "शिक्षाको उद्देश्य प्राप्ताङ्क होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ" तथा छात्राहरूका लागि "विद्यार्थीलाई सजायँ होइन, प्रोत्साहन आवश्यक छ" भन्ने विषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागितामा आयोजित वादविवाद प्रतियोगितामा छात्रातर्फ यूनिटी स्कुलकी दीपशिखा भट्ट र छात्रतर्फ क्यालिटी स्कुलका अभिषेक दुलाल क्रमशः विजेता बन्न सफल भएका थिए।

प्रतियोगितामा छात्र र छात्रा दुबैतर्फ सेन्ट जोन्स इङ्ग्लिस स्कुलका सम्राट नेपाल र ईटुसा लिम्बूले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए भने छात्रतर्फ हिमाल एकेडेमीका प्रज्ज्वल वाग्ले तृतीय स्थानमा र सुर्योदय सेकेण्डरी स्कुलका रियान बनमालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। त्यसैगरी, छात्रातर्फ सुर्योदय सेकेण्डरी स्कुलकी प्रशंसा गोले तृतीय स्थानमा र विमल मेमोरियल विद्यालयकी प्रविधी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन्।

साहित्यकार तथा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्यका रचनाकार चन्द्र प्रसाद न्यौपाने र साहित्यकार तथा कवि जीवनाथ अधिकारीले वादविवाद प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष जी।वी। खड्का र आयोजक विद्यालयका सह–प्रधानाध्यापक अनिस राईले विजयी छात्र तथा छात्राहरूलाई पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा अध्यक्ष जी।वी। खड्काले आफ्नो मन्तव्यमार्फत विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप आयोजना गरिने यस्ता कार्यक्रमहरूले उनीहरूलाई भोलिका जिम्मेवार र असल नागरिक बन्न प्रेरित गर्ने र देश तथा समाजको उन्नयनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। त्यस्तै, कार्यक्रमका सभापति तथा आयोजक ईडेन गार्डेन स्कुलका सह–प्रिन्सिपल अनिश राईले ईप्सनले सञ्चालन गर्ने यस्ता प्रतियोगितात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको बताएका थिए।
