रसुवामा हिमताल विस्फोटपछि आएको बाढीमा ११ को मृत्यु, १९ बेपत्ता – ८६२ जनाको उद्धार

एमएमआई संवादाता (रसुवा)– रसुवामा मंगलबार हिमताल विस्फोटपछि आएको भीषण बाढीले जनजीवन तहसनहस बनाएको छ। त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुईजनाको शव फेला परेसँगै मृतकको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जानकारी दिए। प्रारम्भिक विवरणअनुसार मृतकमध्ये हालसम्म एकजनाको मात्र सनाखत भएको छ भने अन्य शवको पहिचान हुन बाँकी छ। कतिपय अवस्थामा चिन्न नसकिने अवस्थामा शव भेटिएका छन् भने केही स्थानमा मानव अंग मात्र फेला परेका छन्।

प्रहरीका अनुसार हालसम्म बाढीमा फसेका, बाटो अवरुद्ध भएर अलपत्र परेका गरी ८६२ जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षित गन्तव्यमा पु-याइएको बताइएको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका निकायबाट १,३०० भन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन्। यद्यपि अझै १९ जना बेपत्ता रहेको र खोजीकार्य निरन्तर जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

बाढीले नेपाल–चीन सिमानाको मितेरी पुल बगाउनुका साथै ठूलो संख्यामा सवारीसाधन नष्ट गरेको छ। प्रहरीका अनुसार २४ वटा कन्टेनर, ६ वटा ट्रक र ४२ वटा विद्युतीय सवारी (ईभी) बगाएको छ। साथै धुन्चे–टिमुरे सडकखण्डमा ठुलो क्षति पुगेको छ। रसुवागढी जलविद्युत आयोजना (हाइड्रोपावर) को ड्याम र भन्सार कार्यालयको यार्ड पनि बाढीको चपेटामा परेका छन्।

जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटका कारण माथिल्लो जलाधार क्षेत्रबाट एक्कासी ठूलो पानीको बहाव आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। यो बाढी उच्च जोखिमयुक्त भएको र अझैपनि मौसम अस्थिर रहँदा सतर्कता आवश्यक रहेको विभागले चेतावनी दिएको छ। स्थानीय प्रशासन र उद्धार टोलीहरू अझै घटनास्थलमै खटिएका छन्।

प्रतिक्रिया