दशैँ सुरुवातसँगै सार्वजनिक सवारी साधनहरूका लागि रुट परमिट प्रणाली खुला, चाडपर्वमा सवारी सेवा सहज हुने अपेक्षा

MMI संवादाता- आजदेखि सार्वजनिक सवारी साधनहरूका लागि रुट परमिट प्रणाली खुला गरिएको छ। दशैंजस्ता ठूला चाडपर्व सुरु भएसँगै यात्रुहरूको चाप उल्लेखनीय रूपमा बढ्ने भएकाले सरकारले लामो समयदेखि रोकिएको रुट परमिट खुला गर्ने निर्णय गरेको हो। यात्रुहरूलाई चाडपर्वमा सहज रूपमा गन्तव्यमा पुग्न सहयोग पुर्‍याउने उद्देश्यले रूट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन्। अब यातायात व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी निश्चित मार्गमा सवारी सञ्चालनका लागि अनुमति लिन सक्नेछन्। यातायात व्यवस्था विभागले आवेदन अनलाइनमार्फत लिन सुरु गरेकाले प्रक्रिया सरल, पारदर्शी र छिटो हुने अपेक्षा गरिएको छ।

सरकारको यो निर्णय दशैंको चाप व्यवस्थापन गर्न केन्द्रित भएकाले यसले यात्रुहरूलाई गुणस्तरीय र भरपर्दो सेवा दिन टेवा पुर्‍याउने विश्वास लिइएको छ। व्यवसायी संघहरूले रुट परमिट खुला हुनु सकारात्मक र समयसापेक्ष कदम भएको भन्दै सरकारको निर्णयको स्वागत गरेका छन्। तर सवारी संख्या अत्यधिक रूपमा नबढोस् र अस्वस्थ प्रतिस्पर्धा नहोस भन्नेमा चासो व्यक्त गरिएको छ। अनुमति पाउने सवारीहरूले सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्नेछ, जसमा बीमा, कर, चालकको योग्यताजस्ता कानुनी पक्षहरू समावेश छन्। यातायात विभागले चाडपर्वको समयमा यात्रुहरूलाई सुरक्षित, सहज र व्यवस्थित सेवा प्रदान गर्न अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। 

प्रतिक्रिया