मास मिडिया संवादाता– शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलसँग आबद्ध भएर काम गर्न नदिने नीति कार्यान्वयन गर्ने तयारी थालेका छन्। मन्त्रालयमा भएको आन्तरिक समीक्षा बैठकपछि मन्त्री पुनले भने, “शिक्षक र कर्मचारीले राजनीतिक झण्डा बोकेर शिक्षण गर्दा विद्यार्थीको भविष्य अन्धकारमा धकेलिन्छ, अब यो प्रवृत्तिलाई अन्त्य गरिन्छ।” उनका अनुसार अबदेखि कुनै पनि शिक्षक वा प्राध्यापक राजनीतिक दलका गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न देखिएमा पेशागत आचारसंहिताअनुसार कडा अनुशासनात्मक कारबाही हुनेछ।
मन्त्री पुनले विद्यालय र विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावमुक्त बनाउनका लागि नयाँ निर्देशिका तयार पारिने पनि जानकारी दिए। उनले शिक्षक संघ, प्राध्यापक संघ र कर्मचारी संगठनहरूलाई दलनिरपेक्ष रूपमा पुनर्गठन गर्न आग्रह गर्दै, शिक्षा क्षेत्रमा निष्ठा, सेवा भावना र पेशागत मर्यादाको पुनःस्थापनामा सरकार दृढ रहेको बताए। मन्त्रालयले शीघ्रै देशभरका शैक्षिक संस्थाबाट राजनीतिक गतिविधि गर्ने शिक्षक तथा कर्मचारीको विवरण संकलन सुरु गर्ने तयारी गरेको छ।