एमएमआई संवादाता- मधेश प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि देखिएको विवादले प्रदेशसभामा गम्भीर राजनीतिक तनाव सिर्जना गरेको छ। बजेट प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य विपक्षी दलहरूले बजेट निर्माण प्रक्रियामा बिचौलिया र अस्वाभाविक प्रभाव परेको आरोप लगाउँदै बैठक अबरुद्ध गर्दै आएका छन्। उनीहरूको आरोप छ कि बजेटमा प्रदेश सरकारका केही मन्त्रीहरू तथा बाह्य शक्तिहरूको अनुचित प्रभाव देखिएको छ, जसले गर्दा बजेटको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। त्यसै कारण प्रतिपक्षको मागमा कार्यदल गठन गरिएको हो, जसको उद्देश्य बजेटको पारदर्शिता सुनिश्चित गर्दै विवादको समाधान गर्नु थियो। तर कार्यदलमा विवादास्पद मन्त्रीलाई नै सदस्य बनाइएको भन्दै प्रतिपक्षले कार्यदलको वैधानिकता र निष्पक्षतामाथि शंका व्यक्त गर्दै बैठक बहिस्कार गरेको छ।
कार्यदलमा सत्तारूढ दल नेकपा एमालेका तर्फबाट भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई राखिएको विषयलाई लिएर विवाद अझ चर्किएको हो। प्रतिपक्षीहरूले कार्यदल गठनको औचित्यमै प्रश्न उठाउँदै "छानबिन गर्नुपर्ने पात्रलाई नै छानबिन समितिमा राख्नु अन्यायपूर्ण र पूर्वनिर्धारित निष्कर्ष निकाल्ने चाल हो" भनी आरोप लगाएका छन्। यसैबीच कार्यदल संयोजक समेत रहेका प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले आफू संयोजकबाट राजीनामा दिएका छन्। यसले कार्यदलको औपचारिकता र प्रभावकारिता झनै खल्बल्याएको छ। प्रतिपक्षको निरन्तर अवरोधका कारण प्रदेशसभाको बैठक पाँच दिनसम्म बस्न सकेन, र पटक–पटक स्थगित गरियो। प्रदेश सरकारले बजेट पारित गर्न चाहेको दबाब रहेको भए पनि सत्तारूढ र विपक्षी दलहरूबीच सहमति नजुट्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन।
बजेट विवादले प्रदेश सरकारभित्रै शक्ति सन्तुलनको समस्या र आन्तरिक समन्वयको अभाव देखाएको छ। सभामुख मण्डलले गत बिहीबार असार २६ गतेको बैठक सुरुआत भएको केही मिनेटमै स्थगित गर्नुपर्यो भने शनिबार बोलाइएको बैठक समेत सरेको छ। प्रदेश सरकार र विपक्षी दलहरूबीच सहमति जुटाउने प्रयास स्वरूप कार्यदल गठन गरिएको थियो, तर त्यसले विवाद समाधान गर्नुको सट्टा झनै समस्या चुल्याएको छ। सभामुखले संयोजक पदबाट राजीनामा दिएसँगै कार्यदल नै प्रभावहीन बनेको छ र अब बजेट पारित गर्ने बाटो अझै अनिश्चित देखिन्छ। यो विवादले मधेश प्रदेशको राजनीतिक स्थायित्वमाथि मात्र होइन, जनताका प्राथमिक आवश्यकतामा आधारित विकास निर्माणमा पनि नकारात्मक असर पुर्याउने संकेत देखिन थालेको छ।