एमएमआई संवाददाता- नागरिक उन्मुक्ति पार्टीभित्र गम्भीर आन्तरिक विवाद देखिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले हालै संसदीय दलले बोलाएको केन्द्रीय समितिको बैठकलाई अवैधानिक घोषणा गरेकी छन्। अध्यक्ष श्रेष्ठका अनुसार उक्त बैठक पार्टीको विधानविपरीत छ, र केन्द्रीय नेतृत्वलाई बेवास्ता गर्दै निर्णय गरिएका छन् र यसमा उनको सहमती छैन ।
विवादको सुरुआत संसदीय दलले पार्टीको विधान संशोधन गर्ने तथा काठमाडौंमा बैठक बोलाउने निर्णयसँगै चर्किएको हो। अध्यक्ष श्रेष्ठले ती निर्णयहरू एकपक्षीय र असंवैधानिक रहेको बताउँदै तीप्र आपत्ति जनाएकी छन्। उनले पार्टीको एकता र अनुशासन उल्लंघन भएको भन्दै सचेत गराएकी छन्।
यसैबीच, गङ्गाराम चौधरीले आफूलाई महासचिव दाबी गर्दै बैठक आह्वान गरेका छन्। तर निर्वाचन आयोगमा उनको नाम आधिकारिक रूपमा अद्यावधिक भएको छैन। यसले पार्टीभित्रको सत्ता संघर्ष अझ पेचिलो बनाएको छ। अब पार्टीको भविष्य कुन दिशामा जाने हो भन्नेबारे अनिश्चितता बढ्दो छ।