प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

मास मिडिया संवादाता (काठमाडौँ)– प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ, जहाँ सांसदहरूले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न सोध्ने र उनले प्रत्यक्ष रूपमा जवाफ दिने छन्। यो कार्यक्रम प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सञ्चालन हुने भएको हो।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। साथै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गरिनेछ।

यसबीच, भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाले संसद बैठक लगातार अवरुद्ध गरिरहेका छन्। यता, उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच गृहकार्य भइरहेको छ। यस सन्दर्भमा रास्वपाले संसदमा नयाँ रणनीति बनाउने तयारी थालेको छ।

प्रतिक्रिया