MMI संवादाता (काठमाडौं)– यस वर्ष २०८२ को दशैं पर्व शुद्ध वैदिक समयअनुसार भाद्र महिनामै मनाउने तयारी सुरु गरिएको छ। सावर्णि मन्वन्तरको आधारमा तयार गरिएको शुद्ध पात्रोअनुसार भाद्र ८ गते घटस्थापना गरिनेछ भने भाद्र १७ गते विजयादशमीको टिका तथा जमरा ग्रहण गरिनेछ। यो विशेष दशैं पर्वलाई पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल र धार्मिक सचेत समूहहरू मिलेर व्यापक रूपमा मनाउने तयारीमा छन्।
२०६५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार, देशभरका चाडपर्वहरूलाई वैदिक शास्त्र र खगोलीय गणनासँग मेल हुने गरी एक महिना अघि सार्ने निर्णय गरिएको थियो। सो निर्णय अनुसार २०८२ सालको दशैं अघिल्लो वर्षजस्तै सार्वजनिक रूपमा शुद्ध तिथिमा मनाउने अभियानले गति लिएको छ। यद्यपि पञ्चाङ्ग निर्णय समितिले यो शुद्ध समयलाई अझै औपचारिक रूपमा लागू नगरे पनि, सुधार पक्षधर समुदायहरूले यस वर्ष दशैंको पुनर्संरचना गर्दै छन्।
पर्वसमय सुधार राष्ट्रिय समाज नेपालले यो शुद्ध समयको दशैंलाई थप ऐतिहासिक र प्रेरणादायी बनाउनका लागि भाद्र १७ गते सामूहिक टिका ग्रहण कार्यक्रमको आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रम काठमाडौंसहित विभिन्न शहरमा पनि आयोजना हुने तयारी भइरहेको छ। धार्मिक, सांस्कृतिक, र वैदिक चेतना फैलाउने उद्देश्यले, समाजले प्रचारप्रसार र स्थानीयस्तरमा अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।
यस शुद्ध समयको दशैंलाई मनाउनेहरूका अनुसार, वर्तमान पात्रोको आधारमा चाडपर्वहरू खगोल विज्ञानसँग मेल नखाँदा धार्मिक अपूर्णता र वैचारिक विभाजन बढेको महसुस भइरहेको छ। त्यसैले यो समयावधि सुधार अभियान केवल तिथि परिवर्तन मात्र होइन, सांस्कृतिक पहिचानको पुनरुत्थान पनि हो। देशभर फैलिँदो सचेतना र सहभागिताले आगामी वर्षदेखि यस्ता शुद्ध पर्वलाईनै राज्यस्तरमा अङ्गीकार गरिने अपेक्षा गरिएको छ।
पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि शुद्ध समयअनुसार मनाइने दशैंले धार्मिक परम्परा, खगोलशास्त्रमा आधारित वैज्ञानिक तर्क, र सामाजिक समरसताको सुन्दर समायोजन प्रस्तुत गरेको छ। यस्तो पर्व मनाउने अभ्यासले केवल वैदिक विधिको सम्मान मात्र होइन, देशभरका समुदायबीच एकता, समानता र चेतनाको विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दछ। सत्य, शक्ति र विजयको प्रतीकका रूपमा मानिने दशैंको मूल मर्मलाई अझ प्रगाढ रूपमा आत्मसात गर्न शुद्ध समयले मार्गदर्शन गर्ने विश्वास लिइएको छ।