मास मिडिया संवादाता (काठमाडौँ)– डेविस कप टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ। जुलाई १६ देखि १९ तारिखसम्म हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले समूह ४ अन्तर्गत प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीमा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घले खेलाडीका रूपमा सहभागी हुने छन्। उनीहरूले नेपालको तर्फबाट टेनिस कोर्टमा प्रतिस्पर्धा गर्दै मुलुकको प्रतिनिधित्व गर्नेछन्।
टोलीको नेतृत्व प्रशिक्षक जितेन्द्र परियारले गर्ने छन् भने व्यवस्थापनको जिम्मेवारी जयजीव हाडाले सम्हाल्नेछन्। प्रतियोगितामा नेपालसहित कुवेत, कीर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी आठ राष्ट्र सहभागी हुँदै दुई समूहमा विभाजित भएर लिग चरणमा प्रतिस्पर्धा गर्नेछन्। यो समूह ४ को प्रतिस्पर्धा नेपाली टेनिसको अन्तर्राष्ट्रिय स्तरमा अनुभव सँगाल्ने राम्रो अवसर पनि हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी टोलीलाई शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत बिदाइ गरिएको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघको तदर्थ समितिका संयोजक मनोहरदास मूललगायतले टोलीलाई सफलताको शुभकामना दिएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा प्रदान गरेका थिए।