मास मिडिया संवादाता (काठमाडौँ)– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा “राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२” भव्य रूपमा सम्पन्न भएको छ । करिब चार घण्टासम्म सञ्चालन भएको यो सांस्कृतिक यात्रा एउटा साधारण उत्सव मात्र थिएन—यो विविधतायुक्त नेपालको मौलिक स्वर र राष्ट्रिय एकताको प्रतिविम्ब बनेर प्रस्तुत भएको थियो।
देशका सातै प्रदेशबाट आएका कलाकारहरूको उत्साहपूर्ण सहभागिता, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति, र बहुरूपी सांस्कृतिक प्रस्तुतिहरूको झिलिमिलीले यो उत्सवलाई राष्ट्रिय स्तरको एक सशक्त सांस्कृतिक पहिचानमा रूपान्तरण गराएको थियो।
मौलिक संगीत र पारम्परिक वाद्यवादनले दिएको आत्मीयता
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरुणकुमार चौधरीलाई नौमती बाजा र परम्परागत वाद्यवाधनहरु, दमाहा, नरसिंगा, ट्याम्को र सनाइँजस्ता ऐतिहासिक बाजाहरूद्वारा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई भव्य स्वागत गरिएको थियो । नेपाली परम्पराको आत्मासँग जोडिने यस्ता वाद्यहरूको धुनले दर्शकदीर्घा मात्र होइन, कलाकारहरूलाई पनि संस्कृतिको मौलिक सुगन्धमा भिजाएको थियो।
‘सातै प्रदेश, एउटै मञ्च’ – सांस्कृतिक विविधताको साझा तस्वीर
उत्सव संयोजक उपकुलपति शम्भू राईले नेपालको १२४ भन्दा बढी भाषाभाषी र १४२ भन्दा बढी जातीय समुदायका सांस्कृतिक सम्पदालाई एकै मञ्चमा देखाउने उद्देश्यले यो उत्सव आयोजना गरिएको जानकारी दिनुभयो।
सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ ले यो उत्सवलाई "नयाँ नेपालको सांस्कृतिक पहिचानको ऐनाको रूपमा" परिभाषित गर्दै यसले राष्ट्रिय चेतना र आत्मगौरवलाई पुनर्स्थापित गरेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सातै प्रदेशबाट प्रस्तुत भएका लोकनृत्य, लोकगीत र नाट्य–रूपान्तरणहरूले केवल मनोरञ्जनको वातावरण सिर्जना गरेनन्, बरु नेपाली समाजको गहिरो सांस्कृतिक जरा, परम्परा, र विविधताको गौरवशाली कथालाई मञ्चमा जीवन्त रूपमा उजागर गरे—एकै मञ्चमा सम्पूर्ण नेपाल झल्किएको अनुभूति दर्शकले आत्मसात् गरे।
– भक्तपुरबाट आएको भैरव नाचले रहस्य र आस्थाको सम्मिलन प्रस्तुत गर्यो।
– कर्णाली प्रदेशको झ्याउरे नृत्यले पाखा–पखेरामा रमाउने जीवनशैली झल्कायो।
– कोसी प्रदेशको आठपहरिया च्याब्रुङ नाच र ‘माखन्डासे’ गीतले लिम्बू संस्कृतिको मौलिकता झल्कायो।
– लुम्बिनी प्रदेशको डिग्रे पैसरी र लस्के नृत्यले तराईका भौगोलिक र सांस्कृतिक विशेषता समेट्यो।
– गण्डकी प्रदेशको झामरे गीत र यानीमाया भाकाले पहाडी क्षेत्रको लोकस्वर गुञ्जायमान बनायो।
– सुदूरपश्चिम प्रदेशको छलिया र देउडा नाचले हलनै ताली र स्वरमा समाहित बनायो।
– मधेस प्रदेशको भोजपुरी गीत र जनकपुर नृत्यले दर्शकलाई स्वदेशको माटो सम्झाउने खालको प्रभाव पार्यो।
मौनताको गहिरो प्रस्तुति
विशेष प्रस्तुति अन्तर्गत कवि लक्ष्मी मालीको कविता “आमा तिम्रो नाम के हो?” को नाट्य रूपान्तरण निर्देशक वीरेन्द्र हमालद्वारा प्रस्तुत गरिएको थियो । नेवारी सांस्कृतिक पृष्ठभूमिमा आधारित यस प्रस्तुतीले नेपाली समाजमा महिला पहिचानको प्रश्न उठाएको थियो। हलमा सन्नाटा छायो, दर्शकको मन छुने दृश्यहरू प्रस्तुत भए। नारीको मौनता र समाजको संरचनात्मक कठोरतालाई छर्लङ्ग पार्ने यो अभिनय बहसको विषय बन्न पुग्यो।
संगीत, नृत्य र चेतनाको समागम
वागमती प्रदेशको घिन्ताङघिसी र फकन्दली नृत्य, साथै प्राज्ञ टिका पुनले गाएको ‘टप्पा’ गीतले विद्यार्थीहरूलाई यति तान्यो कि उनीहरू आफैं मञ्चमा उक्लिएर नाच्न थाले। यो क्षण, दर्शक, कलाकार र आयोजक सबैका लागि उत्साह, एकता र संस्कृतिकै उर्जाशील समागमको रूप बन्यो।
मन्तव्य र प्रतिबद्धता
प्रमुख अतिथिको मन्तव्य राख्नेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरुण कुमार चौधरीले भन्नुभयो, “यो उत्सवले राष्ट्रिय एकता, आत्मगौरव र मौलिक संस्कृतिको उज्यालो मार्ग देखाएको छ।” उहाँले विद्यालय र विद्यार्थीमार्फत् संस्कृतिको हस्तान्तरण हुनु आवश्यक रहेको र यस्ता कार्यक्रमले व्यावसायिक भविष्य पनि खोल्न सक्ने धारणा व्यक्त गर्नुभयो।
कुलपति निशा शर्मा पोखरेलले सहभागी सबैलाई धन्यवाद दिँदै यस्ता मौलिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।साथै कुलपति शर्माले यस वर्षको लाईफटाइमा अचिभमेन्ट अवार्ड दिप श्रेष्ठलाई प्रदान गरिने जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी दुई लाख एक रुपैँया रहेको छ । कार्यक्रमको सहजीकरण हरि पुनले गर्नुभएको थियो भने समापनमा सहभागी कलाकारहरू र संस्थाहरूलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण गरिएको थियो।
यो उत्सव केवल एउटा कार्यक्रम थिएन—यो थियो नेपालको सांस्कृतिक आत्मा साँझपखको मैनबत्ती जस्तै फेरि बल्न थालेको संकेत, मौलिकताको हिमालबाट झरेको आत्मगौरवको सिँचाइ, र भावी पुस्तासँग थमाइने संस्कृतिको दीप। विभिन्न जातजाति र भाषाहरूको मेलोडी, भेषभूषाको चलायमान चित्रपटकथा, नाचको तालमा बोल्ने इतिहास, गीतको सुरमा बग्ने स्मृतिहरू, र संस्कारका परम्परागत रेखाचित्रहरू यस मञ्चमा एकसाथ अभिव्यक्त भए—जसले यो उत्सवलाई केवल मनोरञ्जनको क्षण नभई नेपाली राष्ट्र निर्माणको संस्कृतिकालीन आधारशिलामा टाँसिएको जीवन्त भित्तेचित्र बनायो।
कार्यक्रमको समग्र पक्ष युनिभर्सल टेलिभिजन र मास मिडिया इन्टरनेसनले पव्लिक संचारका लागि कभरेज गरेको थियो ।