निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ, २० फागुन- राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समग्र समीक्षा गर्दै आवश्यक जनशक्ति, स्रोतसाधन र समन्वय पर्याप्त रहेको जनाएको हो। बैठकले निर्वाचनका क्रममा कुनै पनि प्रकारको अभाव हुन नदिने तथा सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायबीच थप प्रभावकारी समन्वय र सक्रिय परिचालन आवश्यक रहेको ठहर गर्दै सोहीअनुसार अघि बढ्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। राष्ट्रिय सुरक्षासँग सम्बन्धित विविध चुनौती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिवेशमा विकसित घटनाक्रम र तिनले पार्न सक्ने प्रभावका साथै भावी रणनीतिबारे समेत छलफल भएको जनाइएको छ। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो।



प्रतिक्रिया