मास मिडिया संवादाता- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भइरहेको विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नहुनु, अनुमानभन्दा बढी लागत लाग्नु र त्यसको सिधा असर सर्वसाधारण जनतामा पर्नु अत्यन्त चिन्ताजनक विषय भएको उल्लेख गर्दै यस्तो अवस्थालाई अब क्रान्तिकारी ढंगले परिवर्तन गर्न स्पष्ट निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सम्बद्ध निकाय, मन्त्रालय तथा कार्यान्वयन इकाइहरूलाई लक्षित गर्दै विकासका परियोजनाहरूमा देखिएको ढिलाइ, लापरवाही, अपारदर्शिता र अनियमितता अब सह्य नहुने चेतावनी दिँदै यस्ता अभ्यासले न त सरकारको विश्वसनीयता कायम रहन्छ, न जनताको जीवनस्तरमा अपेक्षित सुधार आउँछ भनेका छन्।
उनले विकासलाई जनताको जीवनसँग प्रत्यक्ष जोडेर हेर्नुपर्ने बताउँदै अबका दिनमा निर्माण कार्य निर्धारित म्यादभित्र, निर्धारित बजेटमै, आवश्यक गुणस्तरको मापदण्ड पूरा गर्दै सम्पन्न गरिनुपर्ने सशक्त निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले विकासलाई राष्ट्रको मेरुदण्डको रूपमा परिभाषित गर्दै यदि त्यो मेरुदण्ड कमजोर भयो भने सम्पूर्ण प्रणाली असन्तुलित र अक्षम बन्ने चेतावनीसमेत दिएका छन्। साथै, उनले विकास आयोजनामा पारदर्शिता, प्रभावकारिता र जनउत्तरदायित्वको सुनिश्चितता अनिवार्य बनाइनुपर्ने र यस्ता परियोजनामा राजनीतिक हस्तक्षेप तथा भ्रष्ट्राचारलाई जराैंदेखि अन्त्य गर्नुपर्ने दृढता पनि व्यक्त गरेका छन्।