MMI संवादाता- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने सार्वजनिक घोषणा गरेपछि एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा उक्त विषयमा गम्भीर छलफल भएको थियो। यही सन्दर्भमा पार्टी नेतृत्वसँग औपचारिक छलफल गर्न आजको भेटवार्ता आयोजना गरिएको हो।
अध्यक्ष ओलीले भण्डारीले यस्तो महत्त्वपूर्ण निर्णय गर्नु अघि पार्टीसँग कुनै पनि प्रकारको परामर्श नगरेको भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। भेटवार्तामा उक्त विषयले प्रमुख स्थान ओगटेको बताइएको छ।
शनिबार सम्पन्न एमालेको पोलिटब्युरो बैठकमा अधिकांश सदस्यहरूले गरिमामय पद सम्हालिसकेकी पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा फर्किन नहुने धारणा व्यक्त गरेका थिए। उनीहरूले राष्ट्रपतिको पदको सम्मान र निष्पक्षताका दृष्टिले यस्तो निर्णय उपयुक्त नहुने तर्क गरेका हुन्। यसैबीच, एमाले केन्द्रीय कमिटीको बैठक सोमबारदेखि सुरु हुँदैछ, जहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनः सक्रियता विषयक छलफल समेत एजेन्डामा रहने अपेक्षा गरिएको छ।