मास मिडिया संवादाता (काठमाडौँ)– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानलाई लक्षित गर्दै कृषि ऋण प्रणालीलाई अझै सरल र पहुँचयोग्य बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्नुभएको छ। सिहंदरबारस्थित मन्त्रालयमा आज राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भएको भेटमा मन्त्री अधिकारीले बैंक तथा वित्तीय संस्थाको सक्रिय सहयोगबिना कृषिको माध्यमबाट गरिबी निवारण असम्भव हुने स्पष्ट पार्नुभयो।
उहाँले वर्तमानमा कृषि कर्जाको प्रवाह र प्रयोगमा देखिएका व्यावहारिक समस्याहरू उठाउँदै, “कृषिका लागि लिइएको ऋण अन्य क्षेत्रमा परिचालित हुने अवस्था रह्यो भने सरकारको लक्ष्य र अपेक्षा पुरा हुन सक्दैन,” भन्नुभयो। साना किसानले सहजै ऋण पाउने वातावरण निर्माणको खाँचो औंल्याउँदै उहाँले ऋणको सही सदुपयोग सुनिश्चित गर्न प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको धारणा राख्नुभयो।
मन्त्री अधिकारीले सरकारले तोकेको कृषि कर्जासम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्थाले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सरकारी स्वामित्वका बैंकहरूले अझ बढी कृषिमैत्री कार्यप्रणाली अपनाउनुपर्ने सुझाव समेत दिनुभयो। ऋणको पहुँचभन्दा पनि यसको उपयोगको प्रभावशीलता महत्वपूर्ण हुने भन्दै मन्त्रीले गैरकृषि प्रयोजनमा कर्जाको दुरुपयोग रोक्न कडा उपाय अपनाउनुपर्ने आवश्यकता दोहोर्याउनुभयो।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा भएको लगानीको प्रतिफल अपेक्षाअनुसार नआएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले, “माटो खेलाउने किसानले ऋण नपाउने, तर कागज खेलाउनेले पाउने भन्ने गुनासो सुन्ने गरेको छु,” भन्दै प्रणालीको सुधार र प्रभावकारी कार्यान्वयनमा सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति निर्माणको चरणमा रहेको बेला मन्त्री र गभर्नरबीचको यो भेटलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ।
भेटमा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खराल, पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी, मन्त्रीका निजी सचिव रोशन अधिकारी, नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारीलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस छलफलले आगामी दिनमा कृषि ऋण नीतिमा व्यावहारिक सुधार ल्याउने अपेक्षा गरिएको छ।