यस वर्षको भाइटिकाको उत्तम साइत ११ः३९ बजे

MMI संवादाता– नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार उक्त समयमा धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित योग र विजय मुहूर्तको मेल परेको छ, जसलाई अत्यन्त शुभ मानिन्छ। समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार राज्य सञ्चालकका लागि भने यही साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणले मध्याह्नकालमा जुनसुकै समयमा पनि टीका लगाउन सक्नेछन्। उनका अनुसार यो साइत भाइबहिनीबीचको आत्मीयता र स्नेहको प्रतीक पर्वलाई शुभ मुहूर्तमा मनाउन चाहनेका लागि विशेष रूपमा निर्धारित गरिएको हो।

यसअघि कात्तिक १ गतेदेखि सुरु भएको यमपञ्चकमा क्रमशः काग तिहार, कुकुर तिहार, गाईपूजा, गोरूपूजा र आत्मपूजासँगै आज भाइपूजा अर्थात् भाइटीका परेको छ। कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा सम्पन्न भएको थियो। त्यसपछि बुधबार गाई, गोरू र आत्म (म्ह) पूजा मनाइयो। आजको दिनमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका, माला र मिठाइका साथ पूजा गर्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया