सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट

काठमाडौँ, ३ वैशाखः सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारे जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन् ।

सभामुख अर्याललाई अध्यक्ष वन्तले पदभार सम्हालेकामा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराए । विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल गरिदिन आग्रह गरे। 

सभामुख अर्यालले हाल संसद् बैठक अस्थायी संरचनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे । नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाउँदै निकट भविष्यमै नयाँ भवनमा वैठक सुरु गर्ने योजना रहेको बताएका छन् । फोटो पत्रकारहरूको पेसागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन्। 

प्रतिक्रिया