MMI संवादाता– नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा भएको उल्लेखनीय प्रगतिबाट नेपाल लाभान्वित हुँदै आएको र आगामी दिनमा अझ बढी लाभ उठाउने अपेक्षा रहेको बताएका छन्। उनले भारतलाई एक उदाउँदो अन्तर्राष्ट्रिय शक्ति भन्दै, छिमेकी मित्र राष्ट्रको रुपमा त्यसको सफलताले नेपाललाई प्रेरणा दिएको बताए।
राष्ट्रपति पौडेलका अनुसार नेपाल र भारतबीचको सम्बन्ध गहिरो, बहुआयामिक र ऐतिहासिक छ। सामाजिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक हिसाबले दुई देशबीचको सम्बन्ध शताब्दीऔँ पुरानो र जनस्तरसम्म जोडिएको छ। यस्तो सम्बन्धले दुई मुलुकबीच आपसी समझदारी र विश्वास अझ बलियो बनाउँदै आएको छ।
उनले दुई देशबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान र पारस्परिक विश्वासमा आधारित रहेको उल्लेख गरे। प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै, यस्ता उच्चस्तरीय भेटघाटहरूले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।