MMI संवादाता- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै देशको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका विज्ञ तथा जनप्रतिनिधिहरूलाई मन्त्रीमण्डलमा ल्याएकी छिन्। नयाँ मन्त्रीहरूमा चर्चित सञ्चारकर्मी जगदीश खरेल, सामाजिक उद्यम तथा अनुसन्धानमा सक्रिय महावीर पुन, शिक्षाविद् तथा समाजशास्त्री मदन प्रसाद परियार, र प्रशासनिक अनुभव बोकेका अनिल सिन्हा रहेका छन्। राष्ट्रपतिसमक्ष आयोजित विशेष समारोहमा चारै जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्री कार्कीले देशको विकासमा विविध अनुभव भएका व्यक्तिहरूलाई सरकारमा ल्याउनु अहिलेको आवश्यकता भएको बताउँदै नयाँ मन्त्रिपरिषदले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेकी छन्।
शपथ समारोहपछिका केही घण्टामै मन्त्रीहरूले आफूलाई जिम्मेवारी दिइएको मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा सम्हालेका छन् भने महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गर्नेछन्। डा. मदन प्रसाद परियारलाई कृषि तथा पशुपन्छी मन्त्रालय दिइएको छ, भने अनिल सिन्हाले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व लिएका छन्। सबै मन्त्रीहरूले पारदर्शिता, जवाफदेहिता र जनसेवामा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। नयाँ मन्त्रीहरूको आगमनसँगै सरकारले नीति निर्माण र सेवा प्रवाहमा गति लिने अपेक्षा गरिएको छ।
