एमएमआई संवादाता (काठमाडौँ)– प्रहरीले सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाएको छ । सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो ।
यही साउन १० गते मध्यरातिबाट गाउँ छोडेर बेपत्ता भएका थिए । उनीहरुको परिवारका १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका हुन् । उनीहरु हायु परिवारका सदस्य र नातेदार भएको प्रहरीको भनाइ छ । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई आफ्न्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसैगरि उनीहरुले छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले छोडेर हिँडेको र नफर्किने बताएका छन् भने स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए ।
एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी गरेको थियो ।