देशभर मनसुनी वायुको प्रभाव कमजोर, केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा

एमएमआई संवादाता (काठमाडौँ)– देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको सक्रियता न्यून देखिएको जानकारी दिएको छ। सामान्यतया साउन महिनामा वर्षा हुने समय भए पनि हाल देशभर व्यापक वर्षा नभएको विभागले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली मात्र देखिएको छ। स्थानीय वायु, पश्चिमी वायु प्रणाली र भारतको उत्तरपूर्वी भू-भागबाट आएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र देखिएको छ। यसले गर्दा व्यापक वर्षाको सम्भावना नदेखिएको विभागले उल्लेख गरेको छ।

मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म पनि मनसुनी प्रणाली यथावत् रहने सम्भावना छ। यद्यपि बेलुका–बिहान कतिपय स्थानहरूमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। विभागले मौसम परिवर्तनबारे जानकारीका लागि नियमित अपडेटहरू हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, देशका अन्य भागहरूमा पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको र मौसममा पूर्ण सुधार अझै केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया