एमएमआई संवादाता– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा व्याप्त सुख्खाको समस्या समाधान गर्न सरकारका सबै निकायलाई तत्काल विशेष कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन्। महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रममा उनले हालैको खेत निरीक्षणबाट अधिकांश क्षेत्रमा धानबाली नलागेको पत्ता लागेको बताउँदै कृषक र सर्वसाधारणको राहतका लागि तत्कालै ५०० डिप बोरिङ जडान गरिने घोषणा गरे। एक डिप बोरिङले कम्तीमा ६० बिघा जमिन सिञ्चित गर्न सकिने भन्दै उनले यो कार्य यथाशक्य चाँडो सुरु गरिने बताए। साथै, गैरसरकारी संघसंस्थालाई पनि सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्रीले मधेशको दयनीय अवस्थालाई तत्काल सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रमा पानीको रिजर्भियर निर्माण, तालतलैया निर्माण र जमिनको सतह सन्तुलन गर्न रिचार्ज सिस्टम विकास गरिने बताए। उनले संकटग्रस्त क्षेत्रको घोषणा मात्र पर्याप्त नहुने भन्दै छोटो र लामो अवधिका कार्यक्रमहरू मार्फत जनताको पीडा सम्बोधन गरिने स्पष्ट पारे। कार्यक्रममा सहभागी भएपछि उनले मटिहानीस्थित लक्ष्मीनारायण मठ, पिरबाबा मन्दिर र जेठो गुरुकुल विद्यालय अवलोकन गरेका थिए। साथै बल्वा–रौजा र लोहारपट्टी नगरपालिका जोड्ने रातु नदीको पुल तथा मटिहानीको बिग्ही नदीको पुलको उद्घाटनसमेत गरे।