मास मिडिया संवादाता, काठमाडौँ– काठमाडौँको खुलामञ्च अब प्राकृतिक दुबोले छोपिएको सुन्दर चौरका रूपमा पुनर्जीवित भएको छ। १४ हजार ६ सय वर्गमिटरमा फैलिएको दुबोले पुरानो उबडखाबड जमिनलाई सम्याएर आकर्षक दृश्य दिएको छ। खेलकुद पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत महानगरपालिकाले मलिलो माटो थपेर दुबो रोप्ने काम सम्पन्न गरेको हो।
महानगरले सबै वडाका खेलकुद पूर्वाधार सुधारका लागि करिब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही अनुदानबाट खुलामञ्चको चौरका लागि मात्रै ९० लाख रुपैयाँ खर्च गरिएको छ। चौर चारैतिर बनाइएको चार मिटर चौडाइको पैदल मार्ग शहरका विभिन्न स्थानमा सुधारका क्रममा फालिएका हेक्जागोनल ब्लक पुनःप्रयोग गरेर तयार गरिएको हो। मार्गमा न्युरोडबाट हटाइएका २१ पोल जडान गरिएका छन्, जसमा राति आफैँ बल्ने ३० र १०० वाटका बत्ती राखिनेछन्।
सबैका लागि खुला रहने नयाँ खुलामञ्च बहुउपयोगी सार्वजनिक स्थलका रूपमा निर्माण गरिएको छ। बिहान व्यायाम गर्ने, बालबालिकाले खेल्ने, उमेरदराजले टहलिने र आराम गर्ने सबैका लागि छुट्टै ठाउँ मिलेको छ। पश्चिमतर्फ मुख्यद्वार नजिक गिटी र स्टोन डस्ट राखेर खुला स्थान बनाइएकाले भलिबल वा ब्याडमिन्टनजस्ता खेल पनि खेल्न सकिनेछ। ग्रेडिङ र लेभलिङका क्रममा बनाइएका छवटा वाटर रिचार्ज पिटले पानी जम्न नदिई भू–पुनर्भरणमै सहयोग गर्नेछन्। मैदान सफा गर्न करिब तीन महिना दैनिक ५० जनशक्ति परिचालन गरिएको थियो।
२३ हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको खुलामञ्च केही वर्षअघि काठमाडौँ टावर क्षेत्रको ट्राफिक व्यवस्थापनका कारण बसपार्कका रूपमा प्रयोगमा आएको थियो। तर अब यो स्थान फेरि एकपटक नागरिकका लागि खुला, सुरक्षित र हरियालीयुक्त चौरका रूपमा फर्किएको छ।
