कान्तिपुरमा आगजनी र तोडफोड गर्नेलाई कारवाही गर्ने सञ्चारमन्त्री खरेलको प्रतिबद्धता

MMI संवादाता- असोज 8- सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले भदौ २४ गतेको प्रदर्शनका क्रममा कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा भएको आगजनी र तोडफोडको घटनालाई सम्पूर्ण सञ्चारमाध्यममाथिको आक्रमणको रूपमा व्याख्या गरेका छन्। मंगलबार उनले तीनकुनेस्थित क्षतिग्रस्त कार्यालयको स्थलगत निरीक्षण गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। मन्त्री खरेलले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारशिला भएको बताउँदै यस प्रकारका हिंसात्मक गतिविधिहरूले पत्रकारिता क्षेत्रलाई मात्र होइन, अभिव्यक्ति स्वतन्त्रतामाथि नै गम्भीर खतरा उत्पन्न गर्ने बताए। उनले कान्तिपुरमा भएको तोडफोड र आगजनीप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सुरक्षानिकायलाई निर्देशन दिइएको जानकारी पनि दिए।

मन्त्री खरेलले संचारमाध्यमहरूलाई निशाना बनाउने घटनाहरूले देशको लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने भन्दै सम्पूर्ण संचारजगतले एकजुट भएर यस्ता हिंसात्मक गतिविधिको विरोध गर्नुपर्नेमा जोड दिए। उनले कान्तिपुरमाथिको हमला कुनै व्यक्तिगत संस्था वा पत्रकारमात्र होइन, सम्पूर्ण प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको दोहोर्‍याए। निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारले प्रेस सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाउने प्रतिबद्धता जनाए। यस्तै घटनाले सरकार, नागरिक समाज र संचारमाध्यमहरूबीच अझ मजबुत सहकार्य आवश्यक रहेको भन्दै उनले शान्तिपूर्ण प्रदर्शनको अधिकार कायम राख्दै पनि हिंसा र विध्वंसको स्पष्ट रूपमा भर्त्सना गरिनु पर्ने बताए।


प्रतिक्रिया