मास मिडिया संवादाता (काठमाडौँ)– आज नेपालभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष जुन २१ तारिखमा मनाइने यो दिवसले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको सन्तुलन कायम राख्न योग अभ्यासको महत्वलाई उजागर गर्छ। स्वास्थ्यप्रति जनचेतना फैलाउन देशका विभिन्न स्थानहरूमा सामूहिक योग अभ्यास, गोष्ठी तथा जनजागरण कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योगलाई सबैका लागि आवश्यक जीवनशैलीको अंग भन्दै अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गर्न प्रस्ताव गरेका थिए।
मोदीको उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सबैभन्दा पहिले समर्थन गरेका थिए। त्यसपछि युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रहरूले पनि समर्थन जनाएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो। अहिले यो दिवसले योगको महत्वलाई वैश्विक स्तरमा फैलाउँदै जनस्वास्थ्य र आत्मिक सन्तुलनप्रति सचेतना फैलाउने अभियानको रूप लिएको छ।
संयुक्त राष्ट्र सङ्घले घोषणा गरेका दिवसमध्ये सबैभन्दा छोटो समयमा, अर्थात् ९० दिनभित्रै १७७ देशको समर्थन प्राप्त गर्ने कीर्तिमान अन्तर्राष्ट्रिय योग दिवसले कायम गरेको हो। सन् २०१६ देखि हरेक वर्ष जुन २१ मा विश्वभर यो दिवस उत्साहपूर्वक मनाउन थालिएको छ, जसले योगको सार्वभौमिक मूल्य, स्वास्थ्यप्रतिको योगदान र मानव जीवनमा यसको आवश्यकतालाई अझ प्रस्ट बनाएको छ। नेपालमा २०३६ साल माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसरमा योग दिवस मनाउन थालिएको थियो।
पछि अन्तर्राष्ट्रिय योग दिवस जुन २१ मा मनाउन थालिएपछि, नेपाली योग अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए। नेपाल सरकारले २०७२ साउन २८ गते, तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेको हो।