पूर्वमन्त्री मोहम्मद अफताव आलमको ६३ वर्षको उमेरमा निधन

MMI संवादाता- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको ६३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि लामो समयदेखि अस्पतालमा उपचाररत रहेका आलमलाई पछिल्ला दिनमा भेन्टिलेटरमा राखिएको थियो। राजनीतिक जीवनमा सक्रिय रहँदै उनले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। बम विस्फोटसम्बन्धी मुद्दामा उनी लामो समय जेलमा रहेका थिए भने रौतहट जिल्लाबाट निर्वाचित प्रतिनिधिका रूपमा पनि उनले काम गरेका थिए। उनको निधनप्रति नेपाली कांग्रेसका नेताहरूले गहिरो शोक व्यक्त गरेका छन्।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परी घाइते भएका यमुनामाई गाउँपालिकाका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री मोहम्मद अफताव आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको थियो। न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै गएको जेठ १४ गते आलमहरूलाई निर्दोष ठहर गरेको थियो।

प्रतिक्रिया