मास मिडिया संवादाता (काठमाडौँ) जेठ २८- सावर्णि मन्वन्तरको ३० अंश सुधार गरिएको पात्रोअनुसारको गुरुपूर्णिमाको पावन अवसरमा पर्वसमय सुधार राष्ट्रिय समाज नेपालद्वारा आयोजित भव्य समारोहमा समाजका विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका गुरुहरूलाई सम्मान गरिएको छ। कार्यक्रम कलंकीस्थित कृपा भेन्युमा, प्रमुख अतिथि प्रा. दिनेशराज पन्तको विशेष उपस्थिति तथा अध्यक्ष प्रा.डा. जयन्त आचार्यको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार सगोत्री आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य र औचित्यबारे महासचिव बलराम श्रेष्ठले प्रकाश पार्नुभएको थियो।
समारोहमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्याउँदै आएका गुरुहरूलाई सम्मान गरिएको थियो। धार्मिक एवं नाथ सम्प्रदाय क्षेत्रबाट दिलीपनाथ योगी, ज्योतिष क्षेत्रबाट दैवज्ञ किर्तिमदन जोशी, साहित्य क्षेत्रबाट प्रा।डा। मोहनप्रसाद तिमिल्सिना, शिक्षा क्षेत्रबाट धनेश्वरी बाँसकोटा, पत्रकारिता क्षेत्रबाट दिपक रिजाल, बौद्ध धर्मक्षेत्रबाट शान्तरत्न बज्राचार्य, प्राविधिक शिक्षाबाट रामहरी लामिछाने, यातायात क्षेत्रबाट रामकुमार थापा, उद्योग व्यवसायबाट हरसिमरन जित सिंह, बीमा क्षेत्रबाट कपिलदेव ओली, समाजसेवाबाट आत्माराम खड्का र श्यामकृष्ण के.सी. सम्मानित हुनुभयो।
त्यस्तै कर्मकाण्ड र भागवत वाचन क्षेत्रमा पुरण भट्टराई, फोटो पत्रकारिताबाट रत्नकृष्ण श्रेष्ठ, ज्येष्ठ नागरिक तथा सामाजिक क्षेत्रबाट मानकुमारी सिल्पकार, ज्वाला पञ्चाङ्गबाट गंगाप्रसाद ढुंगाना, सामाजिक अभियानतर्फ राजाराम तण्डुकार, धार्मिक ज्योतिषसम्बन्धी रोजगारीमूलक तालिम प्रशिक्षकबाट रामकृष्ण श्रेष्ठ, निर्माण क्षेत्रबाट यान प्रसाद अधिकारी (राजु), खेलकुद क्षेत्रबाट प्रभाकर महर्जन, तथा तोयानाथ पञ्चाङ्गबाट सूर्यनाथ पन्तजस्ता दर्जनौँ गुरुहरूलाई सम्मान गरिएको थियो। उनीहरूको योगदान समाजमा मार्गदर्शन, प्रेरणा र संस्कारको दीपशिखा बनेको आयोजकहरूको विश्वास छ। कार्यक्रममा गुरुपूर्णिमाको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्वमाथि बहस गरियो। प्रमुख अतिथि प्रा. दिनेशराज पन्तले गुरु–शिष्य परम्पराको ऐतिहासिक मूल्य, पात्रो सुधारको आवश्यकता र समाजमा आध्यात्मिक चेतना फैलाउने अभियानको आवश्यकता बारे प्रकाश पार्नुभयो। अध्यक्ष प्रा.डा. जयन्त आचार्यले गुरुहरूप्रति कृतज्ञता प्रकट गर्नु भनेको आत्मा र समाज दुवैलाई उज्यालो बनाउनु हो भन्दै यस्तो आयोजनाले मूल्य, मान्यता र संस्कृति जोगाउने मार्ग प्रशस्त गर्ने बताउनुभयो।
उल्लेख्य संख्यामा उपस्थित श्रद्धालु, बुद्धिजीवी, साधक, सामाजिक अभियन्ता र अध्यात्मप्रेमीहरूबाट कार्यक्रम अत्यन्त सफल, प्रेरणादायी र स्मरणीय बन्यो। उपस्थित व्यक्तिहरूले यस्तो गुरु सम्मान कार्यक्रमले न केवल व्यक्तिगत योगदानको कदर गर्छ, बरु समाजमा ज्ञान, नैतिकता, अनुशासन र परम्परागत मूल्यहरूको पुनर्जागरणमा पनि ठोस योगदान पुर्याउने बताएका थिए। यो कार्यक्रम सावर्णि मन्वन्तरको सार्थकता तथा गुरुपूर्णिमाको मूल भावनालाई समर्पित ऐतिहासिक समारोहको रूपमा स्मरणमा रहनेछ।